चितवनमा हुरीका कारण केरा खेतीमा ४ करोड बढीको क्षति

केन्द्रभाग मिडिया

चितवन ।

चितवनमा हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही चैत २ गतेको हुरीले चार करोडभन्दा बढीको केरामा क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चितवनका प्रमुख महेश रेग्मीका अनुसार बुधबार र बिहीबार दुई दिनसम्म केराखेतीमा क्षति पुगेका क्षेत्रहरुको अनुगमन गरिएको छ । सो क्रममा २० वटा फार्ममा अनुगमन गरिएको उनले बताए ।

हुरीले भरतपुर महानगरपालिकाको वडा नं ७ र २३, रत्ननगर नगरपालिका ५, १२ र १४, खैरहनी नगरपालिकाको वडा नं १३, कालिकाको वडा नं २ देखि ५ सम्मका क्षेत्रमा बढी क्षति पुर्याएको छ । रेग्मीका अनुसार बगानमा एक प्रतिशतदेखि ८८ प्रतिशतसम्म क्षति भएको देखिएको छ ।

उनले भने, “एउटा फार्ममा ८८ प्रतिशत क्षति भएको पायौँ । सबैको अवस्था त्यस्तो छैन ।” हुरीले मालभोग केरामा ठूलो क्षति पुगेको छ । मालभोग केरामा ७८ प्रतिशत र जीनाइन केरामा २२ प्रतिशत क्षति भएको उनले जानकारी दिए । समग्रमा ४३ दशमलव ३५ प्रतिशत केरामा क्षति भएको उनले बताए । कार्यालयमा एक हजार ८०० हेक्टरमा लगाइएको केरा सूचीकृत गरिएको छ ।

केरा सुपरजोन चितवनका संयोजक विष्णुहरिले भने, “केराखेतीको बिमा सुरु हुने समय ढिलो हुने भएकाले पनि किसान मर्कामा परेका छन् ।” किसानले क्षतिपूर्तिसमेत पाउन कठिन हुँदा अझै समस्या हुने गरेको उनले बताए ।

उनका अनुसार गत वर्षको क्षतिपूर्ति रकम अहिलेसम्म किसानले पाउन सकेका छैनन् । अहिलेको क्षतिपूर्ति त कहिले पाउने हो थाहा नभएको उनले बताए । अहिलेसम्म जिल्लामा केराखेती गरेका किसानले रु चार करोडको क्षतिपूर्ति माग गर्दै बिमा कम्पनीमा निवेदन बुझाएको उनले बताए । थप निवेदन आउने क्रममा रहेको र कतिपयले बिमा नगरेकाले यकीन तथ्याङ्क आउन समय लाग्ने बताए ।

चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतो यही चैत २ गते आएको हुरीका कारण जिल्लामा लगाइएको मालभोग केरामा ठूलो क्षति पुगेको छ । अहिले जिल्लामा दुई हजार हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती हुँदै आएको छ । केरा सुपरजोनका रुपमा जिल्लामा काम हुँदै आएको बताउँदै उनले हुरीका कारण कति क्षत्रफलमा लगाइएको केरामा क्षति भयो भन्ने विषयमा सङ्घले तथ्याङ्क सङ्कलन गरिरहेको बताए ।

केरामा हावाका कारण भएको क्षतिले केरा उत्पादक किसान चिन्तित भएको उनको भनाइ छ । गत वर्षमा वैशाखको अन्तिमतिर आउने हुरी यस वर्ष चाँडो आउँदा किसानले ठूलो क्षति बेहोर्नु परेको उनले जानकारी दिए ।

रत्ननगर नगरपालिका–११ निवासी कृषक बाबुराम भट्टले लगाएको छ बिघा केरामा क्षति पुगेको छ । जग्गा भाडामा लिएर केराखेती गर्दै आएका भट्टले चैत सुरु भएसँगै हुरीका कारण क्षति बेहोर्नु परेको बताए । आफूले लगाएको केरा उत्पादन लिने समयमा हुरीले ढलाए पछि अहिले केरा बगान सरसफाइका लागि मजदुर लगाएर काम गर्नुपर्ने अवस्थामा पुगेको उनको भनाइ छ । उनले लगाएको केरा अधिकांश ढलेको अवस्थामा पुगेको छ ।

प्रतिहेक्टर मालभोग २४ टन र जी नाइन ५५ टन उत्पादन हुँदै आएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा व्यावसायिक रुपमा ७०० किसानले केराखेती गर्दै आएका छन् ।रासस

  • ६ चैत्र २०८२, शुक्रबार १३:०९ प्रकाशित