पोखरामा महिलालाई अनैतिक काममा लगाएको आरोपमा दुई जना पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी अनैतिक काममा लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ८ जाल्पारोड स्थित विभिन्न खाजाघरहरुमा अनैतिक गतिविधि भई रहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

पक्राउ पर्नेमा भारत घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर-१४ चाउथे बस्ने वर्ष २४ का राधे श्याम शाह र बागलुङको काठेखोला गाउँपालिका ४  घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर १ बगर बस्ने वर्ष २८ को खेमु थापा रहेको प्रहरीले बताएको छ ।

उनीहरुलाई यहि चैत १ गते अपरान्ह ४ : ३० बजेको समयमा वडा प्रहरी कार्यालय बैदाम र जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरीले टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका शाह र थापाले आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई विभिन्न प्रलोभन देखाई खानबस्न सुविधा सहित राम्रो तलबमा होटलको काममा लगाई दिन्छु भनी झिकाई सुरुमा होटलको काममा लगाउने र केही समय पछी होटलमा आउने पुरुषहरुबाट रकम लिई जबरजस्ती रात अनैतिक कार्य गर्न लगाउने गरेको पाईएको प्रहरीले जनाएको छ ।

उक्त स्थानबाट ४ जना महिलाहरुलाई उद्दार गरिएको छ । पक्राउ परेका दुई जनामाथि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले बताएको छ ।

  • ३ चैत्र २०८२, मंगलवार १६:५२ प्रकाशित