काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदका लागि दुईदिने आवासीय अभिमुखीकरण सुरु गरेको छ । काठमाडौँको पाँचतारे होटलमा मंगलबार घण्टी बनाएर उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका छन् ।
अभिमुखीकरणको पहिलो दिन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सहभागी भएका छैनन् ।महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभापति लामिछाने र वरिष्ठ नेता बालेन शाह बुधबारको समापन समारोहमा सहभागी हुने जानकारी दिएका छन् ।
‘बुधबार दुवै नेता सहभागी हुने कुरा भएको छ’, महामन्त्री बुर्लाकोटीले भने । सभापति लामिछाने केही अस्वस्थ रहेका छन् भने बालेन आफ्नो नेतृत्वमा गठन हुने नयाँ सरकारको मोडालिटी बनाउन व्यस्त छन् ।
यसैबिच उपसभापति अर्यालले शुभकामना मन्तव्य राख्ने क्रममा सम्भव भएसम्म दुवै नेता बुधबारको कार्यक्रममा सहभागी हुने जानकारी दिए । यद्यपि रास्वपाले कार्यक्रमको सेड्युलमा बुधबार सभापति लामिछाने सहभागी हुने उल्लेख गरेपनि शाहबारे केही खुलाएको छैन । अभिमुखिकरणमा संसदीय राजनीति, पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकताका सवालमा नेता र विज्ञहरूले जानकारी गराउनेछन् ।
त्यसबाहेक कार्यक्रममा नवनिर्वाचित सांसदलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण र जनप्रतिनिधिको भूमिकाबारे स्पष्ट पार्न, प्रभावकारी, उत्तरदायी र परिणाममुखी प्रतिनिधि बन्न सहयोग गर्नेलगायत उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जनाएका छन् ।














