पोखरा।
नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भएको छ ।
पोखरा आउने पर्यटकलाई पोखरासहित समग्र गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यबारे जानकारीसँगै उनीहरूको यात्रामा सहजीकरण गर्ने उद्देश्यका साथ पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा सूचना केन्द्र सञ्चालन गर्न लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी दिए ।
पर्यटकको सहजीकरणका लागि केन्द्रमा पर्यटन बोर्डबाट कर्मचारीसँगै दुई जना पर्यटक प्रहरी रहने उनले बताए । पर्यटन राजधानी पोखरा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षक पर्यटकीय गन्तव्य हो । केन्द्र सञ्चालनसँगै यहाँ आउने पर्यटकहरू लाभान्वित बन्ने विश्वास लिइएको छ । रासस














