काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित आफ्ना सांसदहरुलाई आज (मंगलबार) बाट अभिमुखीकरण कार्यक्रम राखेको छ । भोलिसम्म ललितपुर, ग्वार्कोस्थित रोयल टुलिप होटलमा चल्ने अभिमुखीकरण कार्यक्रममा पार्टीका सभापति रवि लामिछाने, उपसभापतिद्वय, डोलप्रसाद अर्याल (डिपी), स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी र केही आगन्तुक प्रशिक्षकहरूले प्रशिक्षण दिनेछन् ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आज बिहान ९ बजेबाट सुरू अभिमुखीकरणको आरम्भ उपसभापतिद्वय अर्याल र वाग्लेले गर्नेछन् ।
उनीहरूले विषय प्रवेशका अतिरिक्त अभिमुखीकरणको तात्पर्यबारे नजनिर्वाचित सांसदहरूलाई जानकारी गराउनेछन् । सत्रमा संसदका पूर्व सचिव सुरेश अधिकारीले मौजुदा संसदको संरचना कार्यप्रणालीबारे नव सांसदहरूलाई जानकारी गराउने कार्यसूची रहेको छ। उनले आफ्नो अनुभवको आधारमा प्रस्तुति दिनेछन् ।
गत २१ फागनुमा भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाइ मत प्राप्त गरेको छ । रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिटमा विजय हासिल गरेको थियो । दुई दिवसीय अभिमुखीकरणमा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सबै सांसद सहभागी हुनेछन् ।














