बूढीगण्डकीमा बाढी : ६ जनाको हेलिकोप्टरबाट उद्धार

केन्द्रभाग मिडिया

काठमाडौं ।
बूढीगण्डकी नदीमा आएको बाढी तथा बाढीपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाले हेलिकोप्टर र स्थलमार्गबाट उद्धार कार्य अघि बढाएको छ । बाढीपहिरोको जोखिममा परेको जगत क्षेत्रबाट ६ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिएका छन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार बूढीगण्डकी नदीमा आएको बाढीपहिरोपछि जोखिममा परेका नागरिकको उद्धारका लागि नेपाली सेनाको फौज परिचालन गरिएको छ । सेनाले हवाई तथा स्थलमार्गबाट उद्धार कार्य गरिरहेको उनले उल्लेख गरेका छन् ।

उनका अनुसार काठमाडौंमा रहेको कम्पोजिट क्विक रियाक्सन टिम समेत हवाई साधनबाट प्रभावित क्षेत्रमा पुगेको छ। उक्त टोलीले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउनेछ। बूढीगण्डकी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सुरक्षित स्थानान्तरणका लागि हेलिकोप्टर परिचालन गरिएको प्रधानमन्त्री शाहले बताएका छन् ।

बाढीपहिरोबाट प्रभावित तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने र आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई प्राथमिकता दिइएको उनको भनाइ छ। बाढीपहिरो प्रभावित क्षेत्रमा आपत्कालीन उद्धार तथा सहयोगका लागि सरकारले विभिन्न सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ ।

एम्बुलेन्स सेवाका लागि १०२, जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी) का लागि १२३४, जिल्ला प्रहरी कार्यालय गोरखाका लागि ९८५६०६११९० र सहायक प्रमुख जिल्ला अधिकारीका लागि ९८५६०५७७७८ नम्बरमा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ ।

बाढीपहिरोको जोखिम कायम रहन सक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकाय र सम्बन्धित निकाय परिचालन भइरहेका छन् ।

  • २५ आश्विन २०८३, आईतवार १०:४० प्रकाशित