रोहितको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

केन्द्रभाग मिडिया

काठमाडौं ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको चुनौती दिएको छ । रोहित पौडेलको शतकको मद्दतमा पूरै ५० ओभर खेल्दै सबै विकेट गुमाएर नेपालले २३५ रन बनाएको हो ।

ओमानको अलअमिरातमा जारी खेलमा क्यानडाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका रोहितले शतक बनाएका हुन् ।

रोहितले १२६ बलको सामना गर्दा ‍‍८ चौका र एक छक्काको मद्दतमा ‍‍‍१०१ रन बनाए । उनी ४८ ओभर तीन बलमा आउट भए । यो रोहितको तेस्रो एकदिवसीय शतक हो । उनले कुशल भुर्तेलको एकदिवसीय शतक रेकर्ड तोडेका छन् ।

अन्तिममा आएर आक्रामक ब्याटिङ गरेका गुल्सन झा अर्धशतक बनाउन दुई रनले चुके । गुल्सनले चार चौका र तीन छक्काको मद्दतमा ३४ बलमा ४८ रन बनाए ।

 

  • २५ आश्विन २०८३, आईतवार १४:५७ प्रकाशित