पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

केन्द्रभाग मिडिया

काठमाडौं ।

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि भएको छ । पश्चिम एशियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि भएपछि नेपालमा पनि इन्धनको मूल्यमा भारी बृद्धि भएको हो ।

नेपाल आयल निगमले गत मध्यरात देखि लागु हुनेगरी पेट्रोलमा प्रति लिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर १० रुपैयाँ मूल्य बढाएको छ ।

नयाँ मूल्य समायोजन अनुसार तेस्रो वर्ग अन्तर्गत पर्ने पोखरा, काठमाडौं र दिपायलमा अब पेट्रोलको मूल्य प्रति लिटर १७२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ ।

त्यसैगरी दोस्रो वर्गका क्षेत्रहरू सुर्खेत र दाङमा पेट्रोल १७१ रुपैयाँ र डिजेल १५१ रुपैयाँ कायम गरिएको छ भने पहिलो वर्गका तराईका जिल्लाहरूमा पेट्रोल १६९.५० रुपैयाँ र डिजेल १४९.५० रुपैयाँमा बिक्री हुनेछ ।

अन्तर्राष्ट्रिय बजारको पछिल्लो लागत मूल्य अनुसार पेट्रोलमा ३१ रुपैयाँ, डिजेलमा ५४ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २१६ रुपैयाँसम्म मूल्य बढेर आएको भएपनि उपभोक्ताको हित र सार्वजनिक सवारी साधनको सहजतालाई ध्यानमा राखेर निगमले मूल्य स्थिरीकरण कोषको प्रयोग गरी न्यून दरमा मात्र मूल्य बढाउने रणनीति लिएको दाबी गरेको छ ।

यति ठूलो दरमा मूल्य वृद्धि गर्दा पनि निगमलाई पाक्षिक रूपमा करिब ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको नेपाल आयल निगमले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • २ चैत्र २०८२, सोमबार ०७:०५ प्रकाशित