एमालेले चुन्यो समानुपातिक तर्फका १६ सांसद

गण्डकीबाट सचिव अर्याल र अखिल नेपाल महिला संघकी अध्यक्ष हमाल बने सांसद

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको सचिवालय बैठकले आफ्नो पार्टीबाट प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने १६ जना सांसदहरूको नामावली टुंगो लगाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने १६ जना सांसदहरूको नामावली टुंगो लगाएका हो । प्रतिनिधि सभा सदस्य पदमा एमालेले समानुपातिकतर्फ केन्द्रीय सचिवसमेत रहेकी स्याङ्जाकी पद्मा आर्याल र अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष समेत रहेकी लमजुङकी टुकाभद्रा हमालसहित १६ जनालाई चयन गरेको हो ।

एमालेले आदिवासी जनजाति, खस आर्य, थारु, दलित, मधेसी र मुस्लिम समुदायलाई समेटेर अन्तिम नामावली तयार पारेको छ । पार्टीले आदिवासी जनजाति क्लस्टरबाट ४ जनालाई सांसदका रूपमा चयन गरेको छ । जसमा महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ रहेका छन् भने पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्य परेका छन् ।

खस आर्य समूहबाट सबैभन्दा धेरै ५ जनाको नाम टुंगो लगाइएको छ । जसमा अर्याल र हमालसहित खस आर्यकै पिछडिएको क्षेत्रबाट एशुदा कुमारी बराललाई चयन गरिएको छ भने सोही समूहको पुरुषतर्फबाट गुरु प्रसाद बराल र पुष्पराज कंडेल सांसद बनेका छन् ।

बैठकले थारु समुदायबाट १ जना पुरुष कृपाराम राणालाई सांसद बनाउने निर्णय गरेको छ । दलित कोटाबाट २ जना महिला सांसद छानिएका छन् । जसमा विष्णुमाया वीके र नीता घटानी रहेका छन् ।

मधेसी क्लस्टरबाट ३ जनाको नाम टुंगो लाग्दा २ महिला र १ पुरुष परेका छन् । मधेसी महिलातर्फ रिङ्ला यादव र यशोधा कुमारी यादव तथा पुरुषतर्फ चन्द्रेश्वर मण्डल सांसद बनेका छन् । मुस्लिम समुदायबाट १ जना महिला साजिदा सिद्दीकीलाई सांसदका रूपमा चयन गरिएको छ ।

  • ३० फाल्गुन २०८२, शनिबार १९:१४ प्रकाशित