पोखरा ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. महाविर पुनलाई अभद्र व्यवहार गरेको आरोपमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पोखरा वडा नम्बर १३ बाँझापाटन बस्ने ४३ वर्षीय विकास गुरुङलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । उनलाई ३ दिनको म्याद थपेर अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए ।
पोखरामा किताब बेचिरहेका महावीरसँग २५ फागुनमा एक व्यक्तिले प्रश्न गर्ने क्रममा भनाभन भएको भिडियो सार्वजनिक भएको थियो । पक्राउ पर्ने गुरुङ उनै भनाभन गर्ने व्यक्ति रहेको प्रहरीले बताएको छ ।
डा. पुनसंग भनाभनको क्रममा एकअर्काले ‘थुक्क’ भनेको भिडियो भाइरल बनेको थियो । सांसद भए पनि संसद् नचलेकाले यो बीचमा कारखानाका लागि भन्दै पैसा उठाउन किताब बेचेको बताएका महावीरले ठीक काम गरेको भन्दै प्रशंसा गर्नेहरू पनि छन् भने सांसद भइसकेपछि पनि किताब बेच्दै हिँड्नु लोकप्रियतामात्रै भएकाले ती नागरिकको प्रश्न ठीक भन्ने प्रतिक्रिया जनाउनेहरू पनि थिए ।
तर, पूर्वमन्त्री तथा सांसदलाई अपमानजनक व्यवहार गर्नुको कारण खोज्नुपर्ने आवाज उठेपछि प्रहरीले विकासलाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।
महावीरले अहिले पनि पोखरामा किताब बेचिरहेका छन् । उनले आफू फुर्सदमा भएकाले किताब बिक्री गरेको बताएका छन् । पक्राउ पर्ने व्यक्ति ३ पटकसम्म लागुऔषध मुद्दामा सजाय पाएको प्रहरीको भनाइ छ । सुशीला कार्की नेतृत्वको वर्तमान चुनावी सरकारमा शिक्षामन्त्री रहेका महाविर पुन मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र चुनाव लडेका थिए । उनले म्याग्दीबाट लोकप्रिय मतका साथ जितेका थिए ।













