पोखरा ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई बिहीबार बिदाइ गरिएको छ । संघीय प्रहरी कार्यालय पोखरामा एक कार्यक्रमको आयोजना गरी कास्कीमा खटेका निर्वाचन प्रहरीको बिदाइ गरिएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्धादेवी शर्मा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक नवीन कार्की, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गण्डकीका प्रमुख, प्रहरी उपरीक्षक दानबहादुर थापासहित प्रहरी अधिकृतहरूले उनीहरूलाई टीका र खादा लगाएर प्रमाण पत्रसहित बिदाइ गरेका हुन् ।
विदाइ कार्यक्रममा बोल्दै कास्कीका सिडिओ रुद्रादेवी शर्माले निर्वाचनको पहिलो घेरामा बसेर निर्वाचन सम्पन्न गरेको स्मरण गरिन् । निर्वाचन प्रहरीले आफ्नो काम त्रुटीरहित ढंगले सम्पन्न गरेको भन्दै उनले निर्वाचनको दौरान सिकेको सिप, बहन गरेको कर्तत्वय र जिम्मेवारी महत्वपूर्ण भएको धारणा राखिन् ।
कास्की प्रहरी प्रमुख, प्रहरी उपरीक्षक नवीन कार्कीले निर्वाचन प्रहरी परिचालन गर्दा शान्तिसुरक्षा कायम गर्न अपराध नियन्त्रण गर्न सहज भएको स्मरण गरे । उनले निलो बर्दीको महत्वलाई ४० दिन मात्र नभएर जीवनमा लागु हुने अपेक्षा प्रकट गरे । उनले प्रहरीको सुख र दूख समेत निर्वाचन प्रहरीले भोगेको र महशुस गरेको धारणा राखे ।
गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख दानबहादुर थापाले ट्राफिक नियमको पालना गराउन र दुर्घटना न्युनिकरण लगायतका विदाई भएर जाने निर्वाचन प्रहरीले महत्वपूर्ण भूमिका खेल्न सक्ने जानकारी दिए ।
सीटीईभीटी गण्डकी प्रदेशका उपनिर्देशक डां मिना भट्टले सिप सिकाउने अनि सिकेको सिपको प्रमाणिकरण गर्ने कार्यक्रमा सीटीईभीटीले सहयोग गर्ने जानकारी दिइन् ।
२१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर १ लाख ३० हजार ९८० निर्वाचन प्रहरी परिचालन गरिएका थिए । त्यस्तै, सशस्त्र प्रहरी मातहत ५ हजार ११० निर्वाचन प्रहरी परिचालन गरिएको थियो । कास्की प्रहरीका अनुसार नेपाल प्रहरी तर्फ कास्कीमा २००८ जना, सशस्त्र प्रहरी बल तर्फ १८४ जना निर्वाचनमा खटिएका हुन् । निर्वाचन प्रहरीका लागि कास्कीमा २६७३ जनाले दर्खास्त दिएका थिए ।













