सभापति लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानी प्रधानमन्त्रीको बधाई

केन्द्रभाग मिडिया

काठमाडौं ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहित उक्त पार्टीलाई हालैको आम निर्वाचनमा प्राप्त उल्लेखनीय सफलताका लागि बधाई ज्ञापन गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वयलाई दिएको बधाई सन्देशमा प्रधानमन्त्री शरीफले उक्त जनादेश नेपाली जनताले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख गरेका छन् ।

सन्देशमा उनले पाकिस्तान र नेपालबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन नवनिर्वाचित नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न पाकिस्तान इच्छुक रहेको उल्लेख गरेको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।

  • २८ फाल्गुन २०८२, बिहीबार ०८:२७ प्रकाशित