फागुन २८ गते मा निर्वाचन प्रहरीलाई सम्मान सहित बिदाइ गर्ने तयारी

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाको लागी भर्ना गरिएका निर्वाचन प्रहरीहरूलाई यहि फागुन २८ गते सम्मानसहित बिदाई गरिने भएको छ । ४० दिनसम्म निर्वाचनको सुरक्षामा परिचालन गर्नेगरी नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्रले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो ।

फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । मतगणना पनि सार्वजनिक भैसकेको अवस्थामा निर्वाचन प्रहरीलाई बिदाइ गर्ने तयारी गरिएको छ । उनीहरूलाई ‘धन्यवाद पत्र’ सहित बिदाइ गरिने नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) अवि नारायण काफ्लेले जानकारी दिए। प्रहरीले फागुन २८ मा देशभर निर्वाचन प्रहरीलाई बिदाइ गर्दै छ । काफ्लेले भने, ‘फागुन २८ गते बिहीबार देशभर उनीहरूलाई बिदाइ गरिँदै छ ।’

सशस्त्र प्रहरी बलले पनि फागुन २८ मा निर्वाचन प्रहरीलाई बिदाइ गर्ने भएको छ । सशस्त्रले निर्वाचन सुरक्षामा १५ हजार ११० जना निर्वाचन प्रहरीलाई परिचालन गरेको थियो । सशस्त्र प्रहरी बलका प्रवक्ता(डीआईजी) विष्णु प्रसाद भट्टले निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीलाई आउने बिहीबार बिदाइ गरिने जानकारी दिए ।

निर्वाचन प्रहरीलाई ४० दिन निर्वाचन सुरक्षामा खटिएबापत सरकारले ३४ हजार ७७६ रुपैयाँ तलब प्रदान गरेको छ । त्यसबाहेक उनीहरूले रासन र आउजाउ गर्न ८४६ रुपैयाँ थप तयारी खर्च पाएका छन् । निर्वाचन प्रहरीले ४ दिनको लागी दैनिक ३ सयको दरले खाजा खर्च पाउनेछन् । पोसाक बापत छुट्टै रकम उपलब्ध गराइएको प्रहरी प्रवक्ता (डीआईजी) काफ्ले बताए । धेरैले सेवा सुविधा पाइसकेको र केही सेवा सुविधा लिने प्रक्रियामा छन् ।

निर्वाचनमा दुई वटा सङ्गठनले कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरेका छन् । उनीहरूको लागि सेवा सुविधामा करिब ७ अर्ब ८३ करोड खर्च भएको सुरक्षा अधिकृतहरु बताउँछन् । नेपाल प्रहरीले मात्रै निर्वाचन प्रहरीको लागी ७ अर्ब १३ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ । सशस्त्रले करिब ७० करोड खर्च गरेको छ ।

निर्वाचनको ड्युटीमा खटिँदा ११ जना निर्वाचन प्रहरी र दुर्घटनामा परेर एक जना नेपाल प्रहरीका असईले ज्यान गुमाए । ड्युटीमा मृत्यु भएका निर्वाचन प्रहरीका परिवारलाई सरकारले बिमा बापत २० लाख उपलब्ध गराउने छ ।

बिरामी भएका निर्वाचन प्रहरीलाई सरकारले उपचार गरेको छ ।

  • २६ फाल्गुन २०८२, मंगलवार १५:०९ प्रकाशित