स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो

केन्द्रभाग मिडिया

स्याङ्जा ।

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि पहिलो बनेको छ ।

निर्वाचन परिणाम अनुसार स्याङ्जा क्षेत्र नम्बर–१ मा रास्वपाले सबैभन्दा धेरै मत प्राप्त गरेको छ । रास्वपाले ३३ हजार ४९९ मत पाएको छ, जुन प्रत्यक्षतर्फ पाएको मतभन्दा चार हजार ४२८ बढी हो ।

यसैगरी, दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले १६ हजार ३९९ मत पाएको क्षेत्र नं। १ का मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए । कांग्रेसले प्रत्यक्षतर्फ पाएको मतभन्दा समानुपातिकमा दुई हजार ४५८ मत कम आएको छ ।

त्यसैगरी, नेकपा (एमाले)ले १४ हजार ४८५ मत प्राप्त गरेको छ । यो मत पनि प्रत्यक्षतर्फको मतभन्दा दुई हजार ३१९ कम हो ।अन्य दलतर्फ राप्रपाले एक हजार ८७३ मत पाएको छ भने नेकपाले एक हजार ५३१ मत पाएको छ । यस क्षेत्रमा समानुपातिकतर्फ ५७ राजनीतिक दल प्रतिस्पर्धामा रहेका थिए ।

यसैगरी, स्याङ्जा क्षेत्र नम्बर(२ मा पनि समानुपातिकतर्फ रास्वपा नै अग्रस्थानमा देखिएको छ । रास्वपाले २९ हजार ५०९ मत पाएको छ, जुन यस क्षेत्रमा प्रत्यक्षतर्फ पाएको मतभन्दा चार हजार १५५ बढी हो ।

दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले १७ हजार ९३१ मत पाएको क्षेत्र नम्बर–२ का निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिए । कांग्रेसले भने प्रत्यक्षतर्फ पाएको मतको तुलनामा समानुपातिकतर्फ झण्डै दुई हजार ८९९ मत कम पाएको देखिएको छ ।

एमालेले ११ हजार ६ मत पाएको छ । यो संख्या पनि प्रत्यक्षतर्फको मतभन्दा करिब तीन हजार १०२ ले कम हो ।अन्य दलहरूमध्ये राप्रपाले एक हजार ३४९ मत पाउँदा नेकपाले एक हजार ४७ मत ल्याएको छ । श्रम संस्कृति पार्टीले पनि एक हजारभन्दा बढी मत पाएको छ, उसले एक हजार ९ मत प्राप्त गरेको छ ।

यस क्षेत्रमा समानुपातिकतर्फ ५७ वटा राजनीतिक दल प्रतिस्पर्धामा थिए । तर, गतिशील लोकतान्त्रिक पार्टी, स्वाभिमान पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टीले भने कुनै पनि मत पाउन सकेनन् ।

  • २६ फाल्गुन २०८२, मंगलवार ११:२५ प्रकाशित