काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट धनुषा–१ मा उम्मेदवार बनेका किशोरी साह कमलले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ ।
साहले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका हुन् । निर्वाचन आयोगले कालोसूचीमा परेकाले योग्यता नपुग्ने भन्दै साहको उम्मेदवारी रद्द गरेको थियो ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले साहको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दैछ ।
उम्मेदवार साह सर्वोच्च अदालत गएको थाह पाएपछि निर्वाचन आयोगले धनुषा–१ मा मतगणना जारी राख्न तर निर्वाचनको अन्तिम नतिजा प्रकाशित नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । त्यसपछि निर्वाचन अधिकृतको कार्यालयले मतगणना टुंग्याए पनि अन्तिम नतिजा सार्वजनिक भएको छैन ।
गणनास्थलमा बसेका रास्वपाका एक प्रतिनिधिका अनुसार, रास्वपाका उम्मेदवार साहले २० हजार भन्दा बढी मत पाएका थिए । तर निर्वाचन अधिकृतको कार्यालयले उनको मत औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।
अर्का प्रतिस्पर्धी मातृका प्रसाद यादवको १० हजार ४०३ मत छ । कांग्रेसका रामपल्टन साहको ९ हजार ५०२ र एमालेका रामचन्द्र मण्डलको ९ हजार ३१५ मत गणना भएको थियो ।
धनुषा क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मातृका प्रसाद यादवले भने आफूलाई विजयी घोषणा गर्न दबाब दिइरहेका छन् । नेकपाका नेता–कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि धर्नामा बसेका छन् ।
किशोरी साह कमल साहको उम्मेदवारी खारेज भएकाले उक्त मत बदर भएको र अरु उम्मेदवारले पाएको भन्दा आफ्नो मत बढी भएकाले आफूलाई निर्वाचित घोषणा गर्नुपर्ने मातृकाको माग छ ।
नेकपा केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले पनि आज विज्ञप्ति जारी गरी आफ्नो पार्टीका उम्मेदवार मातृकालाई प्रमाणपत्र दिन आलटाल गर्नु निर्वाचन प्रक्रिया र स्थापित विधि विपरीत भएको जिकिर गरेका छन् ।














