काठमाडौं ।
गत २३ र २४ भदौको जेनजी आन्दोलन र त्यसक्रममा भएका घटनाक्रमको छानबिन गर्नका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानविन आयोगले भोलि (आइतबार) प्रतिवेदन बुझाउने भएको छ ।
पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले आइतबार बिहान ११ बजे प्रतिवेदन बुझाउन लागेको प्रधानमन्त्री सुशीला कार्कीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए ।
उक्त आयोगको समयावधि पनि आइतबार नै सकिँदैछ । यो प्रतिवेदन चुनाव अगावै सार्वजनिक गर्न जेनजी प्रतिनिधि तथा राजनीतिक दलका नेताहरूले माग गर्दै आएका थिए । काम नसकिएको बताउँदै आयोगलाई २४ फागुनसम्मका लागि म्याद दिइएको थियो ।
प्रधानमन्त्री कार्कीले पनि यो आयोगको प्रतिवेदन बुझेलगत्तै कार्यान्वयनमा लग्ने बताउँदै आएका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदले ५असोजमा उक्त आयोग गठन गर्ने निर्णय गरेको थियो ।













