पोखरा ।
देशको पर्यटकीय राजधानी पोखरालाई केन्द्र मानेर देशभर सेवा दिइरहेको पृथ्वी राजमार्ग बस सञ्चाक कम्पनीमा आवद्ध पोखरा जगदम्बा आफ्नो सेवालाई थप विस्तार गरेको छ । सोफासहित एसी लगायतका सुविधा सम्पन्न बस मार्फत काठमाडौं र पूर्वतर्फ धरान, विराटनगर र काकडभिट्टामा समेत सेवा दिइरहेको जगदम्बाले पोखर- बनेपा धुलिखेल-पोखरा ईभी लक्जरी बस सेवा बुधबारबाट सुरु गरेको छ । एक करोड ६८ लाख रुपैयाँ पर्ने दुई वटा ईभी लक्जरी बस मार्फत सेवा थपिएको हो ।
ईभी लक्जरी बस सेवाको पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले शुभारभ गरेका हुन् । शुभारम्भको अवसरमा बोल्दै उनले पर्यटकीय राजधानीबाट सुविधासम्पन्न ईभी गाडीको शुभारम्भ हुनु देशकै लागि सकारात्मक पक्ष रहेको बताए । जगदम्बाले राम्रो सेवा दिइरहेको भन्दै उनले पछिल्लो थपिएको सुविधाले यस क्षत्रका यात्रुले लाभ लिने अपेक्षा प्रकट गरे । उनले विकासको सारथी नै निजी क्षेत्र रहेको धारणा राखे । नयाँ प्रबिधि र सस्तो शुल्कले सबैलाई उत्साहित बनाएको उनले धारणा राखे ।
शुभारम्भका अबसरमा बोल्दै पोखरा जगदम्बा ट्रभल्सका अध्यक्ष केशबप्रसाद अधिकारीले बुधबारबाट सेवा दिएको ईभी लक्जरी बसमा ३६ सिट क्षेमता रहेको र जहाजका जस्तै सिट सुविधा रहेको जानकारी दिए । उनले भाडा जम्मा ९ सय रुपैयाँ तय गरिएकाले विद्यार्थी र सस्तो खोज्ने ग्राहकलाई लक्षित गरेर सेवा दिइएको बताए । जगदम्बा ब्राण्ड यात्रुको विश्वासमा टिकेर नै अगाडि बढेको उनको भनाई छ । निकट भविश्यमा नै विरगञ्जबाट र विराटनगरमा समेत ईभी लक्जरी बस सेवा सञ्चालनको लक्ष्य राखिएको उनले जानकारी दिए । उनका अनुसार थपिएका ईभी बस बिहान ९ बजे पोखराको पर्स्याङबाट छुटेर लेकसाइड हुँदै पर्यटन बसपार्कबाट ९ः३० मा सेवा दिनेछ । यसैगरी धुलिखेल बनेपामा विहान ७ बजे छुटेर कलंकीबाट बिहान बजे सेवा दिने उनले जानकारी दिए ।
सहनशीला मोटर्सका महानिर्देशक सन्तोस खतिवडाले आफूहरुले उक्त बस नेपाल भित्र्याएको र पोखरा जगदम्बाले सेवा सुरु गरेको बताए । अबको युग इलेक्ट्रिक भेइकलको युग भएको चर्चा गरेका उनले ईभी गाडीमा भएको लगानी र त्यसमार्फत हुने सेवा स्वदेशकै आर्थिक उन्नतिका लागि हुने धारणा राखे । नेपालमा अहिले ७३ प्रतिशत इलेक्ट्रिक भेइकल पुगेको चर्चा गरेका उनले विस्वकै सस्तो विद्युतको उपयोग गर्न सके इन्धनका लागि बाहिरिने पैसा देशमै जोगिने सुनाए ।
शुभारम्भ कार्यक्रममा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख, ट्राफिक प्रहरी उपरीक्षक दानबहादुर थापा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष एवं पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष ऐनकुमार साई, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका संयोजक केदार पौडेल र नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेस पौडेल लगायतले शुभकामना दिएका थिए ।
बिगत ७ वर्ष अघिदेखि पोखरा काठमाडौं र पोखरा दिल्ली लक्जरी बस सञ्चालन गर्दै आएको जगदम्बा ट्राभल्सले २९ सिट क्षमता रहेको बसका यात्रुका लागि पोखरा काठमाडौंको भाडादर २५ सय तय तय गरेको थियो । जगदम्बा कम्पनीले मोर्डन ईरा टुर्स एण्ड ट्राभल्स मार्फत पोखरा दिल्ली लक्जरी बस सञ्चालन गर्दै आइरहेको छ ।
अब यात्रुलाई रोजे अनुरुप, २५ सय भाडादेखि १६०० र एक हजार भाडा दरमा काठमाडौं अनि धुलीखेलसम्म जम्मा ९ सयमा सुविधा दिनेगरी जगदम्बाले सेवा सुरु गरेको हो । सेवा प्रारम्भको अबरमा परेवा उडाएर शान्तिको कामना समेत गरिएको थियो ।















