प्रजातन्त्र दिवसको अवसरमा लामाचौरमा वृहत रक्तदान हुने

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको लामाचौरमा वृहत रक्तदान कार्यक्रम हुने भएको छ।

प्रजातन्त्र दिवसको अवसरमा नव आदर्श सामुदायिक विकास समाजले २६ औं संस्करणको रक्तदान कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष दिनेश भण्डारीले जानकारी दिए।

यही फागुन ७ गते बिहान ८ बजेदेखि लामाचौर चोकमा हुने कार्यक्रमको तयारी शुरु गरिएको अध्यक्ष भण्डारीले बताए।उनका अनुसार बढी भन्दा बढी रक्तदाता सहभागी गराउन बिभिन्न संघ संस्थासँग समन्वय भई रहेको छ ।

पोखरामा बिभिन्न समयमा देखिने रगतको अभावलाई न्युनिकरण गर्न र मानवीय सेवाका क्षेत्रमा समर्पित गर्न समाजले बार्षिक रुपमा क्यालेन्डर नै बनाएर निरन्तर कार्यक्रम गर्दै आएको उनले बताए।

समाजको आयोजनामा हुने कार्यक्रममा एल सी ब्रदर्श युनाइटेड, युवा रेडक्रस सर्कल गण्डकी मावि, जुनियर रेडक्रस सर्कल इन्द्रराज्यलक्ष्मी मावि, अनुग्रहको सत्सङ्ग लामाचौरले सहकार्य गरेका छन्।

प्रादेशिक रक्त संचार केन्द्र पोखराको प्राविधिक सहयोगमा हुने कार्यक्रममा सहभागी हुन समाजले आग्रह गरेको छ । संस्थाले अघिल्लो बर्ष गरेको कार्यक्रममा १ सय ५ युनिट रगत संकलन भएको थियो ।

  • ४ फाल्गुन २०८२, सोमबार १५:३१ प्रकाशित