काठमाडौं ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तय भएका मतदाताको सूची सार्वजनिक गरेको छ।
आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आगामी प्रतिनिधि सभा निर्वाचनका लागि देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता दर्ता भएका छन्।कुल मतदातामध्ये पुरुष ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार १३१ र अन्य २ सय जना रहेका छन्।
देशभर निर्वाचन प्रयोजनका लागि १० हजार ९६७ मतदान स्थल तोकिएका छन्। ती स्थलहरूमा जम्मा २३ हजार ११२ मतदान केन्द्र रहने निर्वाचन आयोगले जनाएको छ।
प्रकाशित भएको नामावली अनुसार कास्कीमा ३ लाख ८ हजार ५७२ जना मतदाता रहेका छन् । तथ्याङ्कअनुसार आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीका तीन वटै क्षेत्रमा पुरुष भन्दा महिलाको संख्या धेरै रहेको छ । कास्कीमा पुरुष मतदाता १ लाख ४८ हजार ४१५ र महिलाको संख्या १ लाख ६० हजार १५३ रहेको छ ।
जसमा अन्य ४ जना छन् । आयोगका अनुसार कास्की निर्वाचन क्षेत्र नं १ मा पुरुष ५६ हजार ७९ र महिला ६० हजार ७९८ गरी १ लाख १६ हजार ८७८ जना मतदाता छन् । क्षेत्र नं २ मा ८४ हजार १३४ मा पुरुषको संख्या ३९ हजार ७९३ र महिलाको संख्या ४४ हजार ३४० छ । त्यस्तै क्षेत्र नंं ३ मा पुरुष मतदाता ५२ हजार ५४३ र महिला मतदाता ५५ हजार १५ जना रहेका छन् । अन्य तर्फ क्षेत्र नं १ मा १ जना, क्षेत्र नं २ मा १ जना र क्षेत्र नंं ३ मा २ जना छन् ।
आयोगले दिएको जानकारी अनुसार कास्कीमा १ सय ५३ मतदान स्थलमा ३ सय ४५ केन्द्र रहने छन् । जस अन्र्तगत कास्की निर्वाचन क्षेत्र नं १ मा ६१ स्थलमा १ सय ४० केन्द्र,क्षेत्र नं २ मा ३३ स्थलमा ७९ केन्द्र र क्षेत्र नं ३ मा ५९ स्थलमा १ सय २६ केन्द्र रहने छन् । प्रतिनिधी सभाको १६५ स्थानका लागि फागुन २१ गते निर्वाचन हुँदैछ ।















