नयाँ संसद्को बैठक नयाँ भवनमै सञ्चालन हुन्छ : संसद् सचिवालय

केन्द्रभाग मिडिया

काठमाडौं ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने नयाँ संसद्को बैठक नयाँ संसद् भवनमै सञ्चालन हुने भएको छ। संघीय संसद् सचिवालयले निर्वाचनपछिको अधिवेशनका लागि नयाँ भवन प्रयोग गर्ने गरी सरकारसँग निरन्तर संवाद र आवश्यक तयारी गरिरहेको जानकारी दिएको छ।

संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीका अनुसार अहिले नयाँ संसद् भवनबाहेक अन्य कुनै विकल्पमा छलफल भएको छैन। बैठक सञ्चालनका लागि आवश्यक पर्ने न्यूनतम भौतिक पूर्वाधारहरू सो समयसम्म तयार हुनेमा सचिवालय विश्वस्त देखिएको छ। ‘अधिवेशन आह्वान हुनुभन्दा १५–२० दिन अगावै सभा कक्षसहितका आवश्यक पूर्वाधारहरू सचिवालयलाई उपलब्ध हुने अपेक्षा छ,’ गिरीले भने।

नयाँ भवनमा निर्माण भइरहेका प्रतिनिधिसभातर्फका कुल १२ कक्षमध्ये बैठक कक्षसहित ६ वटा कक्ष उपलब्ध भएको खण्डमा सहजै बैठक सञ्चालन गर्न सकिने सचिवालयको आकलन छ। तत्कालका लागि न्यूनतम पूर्वाधार प्रयोग गरेर बैठक सुरु गर्ने र बाँकी निर्माण कार्य सम्पन्न भएपछि क्रमशः अन्य सेवाहरू पनि नयाँ भवनबाटै सञ्चालन गर्ने योजना बनाइएको छ।

यसअघि नै सचिवालयले नयाँ सांसदहरूका लागि आवश्यक व्यवस्थापन मिलाउन सरकारलाई पत्राचार गरिसकेको छ। लामो समयदेखि भाडाको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको नेपालको संसद् अब आफ्नै अत्याधुनिक र सुविधायुक्त भवनमा सर्ने अन्तिम तयारीमा पुगेको हो।

  • १८ माघ २०८२, आईतवार १५:०० प्रकाशित