प्रकाश डोटेल,
स्याङ्जा ।
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी कालिगण्डकी नदीका विभिन्न स्थानमा निर्माणाधिन झण्डै आधा दर्जन सडक पुल तोकिएको समय सिमाभित्र बन्न नसक्दा अलपत्र अवस्थामा पुगेका छन् । पर्यटकीय क्षेत्रमा अथाहा सम्भावना भएका दुई प्रदेशसँग यातायातको प्रत्यक्ष सञ्जालमा जोड्न निर्माण थालिएका पुल १४ वर्षसम्म निर्माणमा ढिलाइ हुँदा अलपत्र अवस्थामा पुगेका हुन् ।
स्याङ्जा र पाल्पा जोड्ने गरी निर्माणाधिन ५ वटा पुल र गुल्मी जोड्ने गरी निर्माण भएका दुई पुल समय सिमाभित्र निर्माण हुन नसक्दा म्याद थपेर निर्माण गरिएको छ । सडक विभाग पोखराको पुल सेक्टरले निर्माण गरेको पाँच र पाल्पास्थित सडक विभागले निर्माण गरेको दुई पुलको म्याद थप गरेर निर्माण कार्य जारी राखिएको छ ।
गण्डकी प्रदेशको स्याङ्जास्थित चापाकोट नगरपालिका–८ दामाचौर र लुम्बिनी प्रदेशको पाल्पा जिल्लाको रामपुर नगरपालिका–६ प्याकलुक जोड्ने गरी बनेको ट्रस पुल १४ वर्षमा ८० प्रतिशत मात्रै काम सकिएको छ । २०६८ सालको असारमा एमएस इलाइट एसबिए जेभी काठमाडौले तीन वर्षमा निर्माणको काम सक्नेगरी सो पुलको सम्झौता गरेको थियो । उक्त पुल १५ करोड ६८ लाख १३ हजार २६६ रुपैयाँको लागतमा निर्माण थालिएको हो ।
१८१ दशमलब ६९ मिटर लम्बाई रहेको पुल डिजाइन फेल हुँदा निर्माणमा ढिलाई भएको निर्माण कम्पनीले दाबी गरेको छ । वेल फाउण्डेस डिजाईनमा निर्माण गर्नेगरी सडक डिभिजन कार्यालय पाल्पाबाट जिम्मा पाएको निर्माण कम्पनीले दुई किनारामा पिलर राखेर नदीको मध्यभागमा पिलर बनाउने क्रममा डिजाइन अनुसार काम अगाडी बढ्न नसक्दा पुल बन्ने प्रक्रिया रोकिएको होे । सो पुलको १४ वर्षसम्म पाँच पटकसम्म म्याद थप गरेर निर्माण कार्य जारी राखिएको छ ।
२०७४ मङसिरमा एमएस सपना÷महादेव, खिम्ती÷हिरा जेभीले तीन वर्षमा काम सक्ने गरी सम्झौता भएको बाँसटारी पुल भने आठ वर्षमा ४० प्रतिशत काम सकिएको छ । दुई सय मिटर लम्बाईको पुल २४ करोड ६० लाख १८ हजार तीन सय रुपैयाँमा सम्झौत गरिएको हो । निर्माण कम्पनीले सभ्झौता अनुसार काम गर्न नसक्दा हालसम्म पाँच पटक म्याद थपिएको छ ।
सिद्धार्थ राजमार्गको कालीगण्डकी नदीस्थित राम्दीमा निर्माण गरिएको नमुना पुलको ८० प्रतिशत काम सकिएको छ । थाइल्याण्डका प्राविधिकको सहयोगमा डिजाइन गरिएको पुल सीएफएसटी स्टिल टयुब आर्कब्रिज हो । नेपालकै पहिलो र एक स्पान रहने राम्दीको मोटरेबल पुल १२० मिटर लम्बाइको हुने छ । २७ करोड ७१ लाख ९ हजार ६ सय रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पुल सेक्टर पोखराले जनाएको छ ।
त्यसैगरी कालीगण्डकी नदीको बेल्टारीस्थित पुल सम्झौताको दुई वर्षसम्म ५० प्रतिशत काम सकिएको छ । गौरीपार्वती–न्यु टेक्निकल जेभीले तीन बर्षमा सक्ने गरेर २०७७ सालमा सम्झौता भएको पुल १५ करोड ३९ लाख २८ हजार ६८० रुपैयाँको लागतमा निर्माण हुने छ ।
कालीगण्डकी नदीमा बन्दै गरेका आधा दर्जन बढी मोटरेबल पुलमध्ये चापाकोट नगरपालिका–१० आँधीघाट र रामपुर नगरपालिका–१० बर्दले जोडने गरी २०७९ कात्तिकमा सम्झौता भएको पुल अन्तिम चरणमा पुगेको छ । सपना निर्माण सेवा कम्पनीले तीन वर्षमा निर्माण सक्ने गरी सम्झौता भएको पुल अन्तिम चरणमा पुगेको हो । ३० करोड ६४ लाख ३८ हजार ८ सय रुपैयाँको लागतमा बन्ने पुल केहि दिनभित्र सकिने पुल सेक्टर पोखराका इन्जिनियर बिदुर सुवेदीले जानकारी दिए ।
उता स्याङ्जा र गुल्मी जोड्ने गरी निर्माणाधिन सेतीवेणी पुलको अवस्था झन् कमजोर छ । म्याद सकिएको दुई वर्ष वितिसक्दा समेत ३० प्रतिशत मात्रै काम भएको छ । एक सय मिटर लामो पुल यामजिनी–राजेश्वरी जेभीले २०७८ असारमा दुई वर्षमा सक्ने गरी जिम्मा पाएको थियो । पछिल्लो समय तेस्रो पटक म्याद थपेर २०८३ भदौमा उक्त पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
कालिगण्कडी गाउँपालिकाको चिउरीबोट–अर्बेनी पुलको अवस्था पनि अन्य पुलको जस्तै छ । म्याद गुज्रेको डेढ वर्ष वितिसक्दा पनि ३० प्रतिशत मात्रै काम सकिएको छ । इलाइट–यामजिनी–राजेश्वरी जेभीले १८ करोड ६८ लाख ७० हजार ७९० रुपैयाँको लागतमा तीन वर्षे सक्ने गरी सम्झौता भएको १८० मिटर लामो पुलको दोस्रो पटक म्याद थपेर २०८३ असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सडक विभाग पाल्पाले जनाएको छ ।
वर्षौसम्म पुल बन्न नसक्दा कालीगण्डकी नदी आसपास स्याङ्जा, पाल्पा र गुल्मीका बासिन्दाले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । निर्माण कम्पनी र सरोकारवाला निकायको ढिलासुस्तीले रणनीतिक महत्वका पुल कहिले पूरा हुन्छन् भन्नेमा स्थानीय अन्यौलमै छन् । समयमै पुल निर्माण भए सेवा क्षेत्रका बासिन्दाको जीवनस्तरमा परिवर्तन आउन सक्नेमा स्थानीय आशावादी छन् ।















