कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्व कार्यसमितिको नाम हटाइयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको आधिकारिक वेबसाइट नेपाली कांग्रेस डटकम डट ओआरजीबाट १४ औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइएको छ ।

विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापा नेतृत्वको कार्यसमितिले पार्टी केन्द्रीय कार्यालयमा पुगेर शुक्रबार पदबहाली गरेपछि पुरानो कार्यसमितिको नाम हटाइएको केन्द्रीय कार्यालय स्रोतले जानकारी दिएको छ ।

तथापि वेबसाइटमा थापा नेतृत्वको नयाँ कार्यसमितिको नाम अपलोड गरिएको छैन । केन्द्रीय कार्यालयका कर्मचारीहरूले फोटो र नाम र पदाधिकारी र सदस्यहरूले चलाउने सामाजिक सञ्जालको लिंकसहित राख्नुपर्ने भएकाले बनाउने काम भइरहेको बताउँछन् ।

पदाधिकारीहरू भने सर्वोच्च अदालतले गर्ने फैसलापछि मात्रै पूर्णरूपमा काम गर्ने मानसिकतामा आफूहरू रहेको बताउँछन् । अहिले निर्वाचनसम्बन्धी काम मात्रै गर्ने उनीहरूको भनाइ छ ।

गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनलाई १४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवा नेतृत्वको संस्थापन समूह र डा शेखर कोइराला नेतृत्वको इतर समूहले स्वीकारेका थिएनन् ।

तथापि निर्वाचन आयोगले १४ औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई मान्यता दियो । त्यसको विरुद्धमा पुरानो संस्थापन सर्वोच्च गएको छ ।

त्यो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सुनिल पोखरेलको इजलासले निर्वाचन आयोगलाई आधिकारिक दिनाको कारण १५ दिनभित्र लिखित रूपमा आफै उपस्थित भएर वा प्रतिनिधिमार्फत पेस गर्न निर्देशन दिएको छ ।

  • १३ माघ २०८२, मंगलवार १३:०३ प्रकाशित