समानुपातिकको मतपत्र छाप्ने काम सकियो, प्रत्यक्षतर्फको छाप्न सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सकेर प्रत्यक्ष तर्फको मतपत्रको छपाईको काम सुरु भएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको र प्रत्यक्ष तर्फको मतपत्र छपाईको काम सुरु भएको निर्वाचन आयोगले जनाएको हो ।

केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले समानुपातिकतर्फको मतपत्र छपाइ पूरा भएपछि प्रत्यक्षतर्फको सुरु भएको जानकारी दिए । उनका अनुसार केन्द्रले सोमबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको छ ।

केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाइसकेको थियो । ती मतपत्र मतदाता सचेतना तथा अन्य कामका लागि प्रयोग भइरहेका छन् ।

  • १३ माघ २०८२, मंगलवार ०७:४२ प्रकाशित