पोखरा ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सार्वजनिक बहसको आह्वानलाई उनकै निर्वाचन क्षेत्र झापा ५ मा प्रतिस्पर्धामा उत्रेका रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेनले अस्विकार गरेका छन् । अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसमा कमेन्ट गर्दै बालेनले भनेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।’
बालेनले लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो ! आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यो पछि अरू कुरा गरौँला १ ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’
यस अघि भावि प्रधानमन्त्रीको उम्मेदवारका रुपमा चुनावमा होमिएका नेताबिच पब्लिक डिबेट हुनुपर्ने माग भइरहेको समयमा ओलीले यसका लागि आफू तयार भएको बताएका थिए । यस विषयमा कांग्रेस सभापति गगन थापाको अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।















