काठमाडौं ।
निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारहरुको नामावाली आज प्रकाशन गर्दैछ । मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्न लागिएको आयोगले जनाएको हो ।
मंगलबार साँझसम्म मनोनय दर्ता भएपछि आयोगले बुधबार उम्मेदवारविरुद्ध उजुरी लिएको थियो । बुधबार साँझ नै दर्ता भएका उजुरीबारे जाँचबुझ गर्ने काम भइसकेकोले आज नामावली प्रकाशन गर्ने आयोगको तयारी छ । आयोगको कार्यतालिका अनुसार आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
यस्तै, ९ माघको शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । ९ माघको दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ ।
आयोगमा अहिलेसम्म प्राप्त जानकारी अनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी तीन हजार ४८६ को उम्मेदवारी दर्ता भएको छ ।
यसपटक ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० गरी जम्मा एक करोड ८९ लाख ०३ हजार ६८९ मतदाता निर्वाचनमा सहभागी हुँदैछन् ।















