गगन र देउवा पक्षको दाबी उपर अध्ययन गर्दै आयोग

केन्द्रभाग मिडिया

काठमाडौं ।

१४ औं महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापाको दाबी उपर निर्वाचन आयोग अध्ययनमा जुटेको छ ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले अध्ययन थालेको हो ।सूचना अधिकारी घिमिरेले भनेको शाखा निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा हो ।

पुस २७ देखि माघ १ गतेसम्म चलेको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्वले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ । निवेदनमा विशेष महाधिवेशनले गरेको निर्णय अनुसार कार्यसमिति अद्यावधिक गर्न भनिएको छ । साथै आगामी निर्वाचनमा पार्टीका उम्मेदवारको मनोनयनपत्रमा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको हस्ताक्षर रहने भनिएको छ ।

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मनोनयन दर्ता यही माघ ६ गते तय भएको छ । यसअघि कांग्रेसबाट मनोनयनपत्रमा हस्ताक्षर शेरबहादुर देउवाको रहने गरी निर्वाचन आयोगमा अभिलेखित छ । त्यसलाई बदलेर गगन थापाको हस्ताक्षर मनोनयनपत्रमा हुने भनेर विशेष महाधिवेशनबाट निर्वाचित समूहले निवेदन दिएको हो ।

तर, शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन नै आयोजना नभएको भनेर निवेदन दिएको छ । आधिकारिकता विवाद अध्ययन भइरहेका बेला आज देउवा पक्षका नेता–कार्यकर्ताहरु आयोगको कार्यालय कान्तिपथ पुगेका छन् ।

  • २ माघ २०८२, शुक्रबार १२:०४ प्रकाशित