देउवाको कारबाहीपछि गगनले भने, ‘हामी नै आधिकारिक कांग्रेस हौं’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेपछि महामन्त्री गगनकुमार थापाले प्रतिक्रिया दिएका छन् । एक राष्ट्रिय समाचार पोर्टललाई अन्तरवार्ता दिदैं थापाले आफुहरु नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन् ।

देउवा समूहको केन्द्रीय समितिको बैठकले उनी र अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितलाई पाँच वर्षका लागि निष्काशनको निर्णय गरेलगत्तै थापाले पार्टीको आधिकारीकनै विशेष महाधिवेशन पक्षधर रहेको बताएका हुन् ।

‘हामीले सभापतिले छोडे हुन्छ भनेका हौँ । असोज २८ गते केन्द्रीय समितिको बैठकमा उहाँले सम्बोधन गरेर कार्यवाहक दिएर जाँदा सम्मान गरेकै हो नि,’ गगनले भने, ‘अब हामी अल्मलिनुपर्ने अवस्था रहेन । विशेष महाधिवेशनको मनोनयनको काम सकियो । नामावलीहरू सार्वजनिक हुँदैछ । संवादका लागि प्रयास भएका थिए सफल भएनन् ।’

अब कांग्रेसको आधिकारिकता को ? भन्ने प्रश्नमा थापाले थपे, ‘यहाँ विधिवत र विधानसम्मत नेतृत्व चयन हुँदैछ । यही नै कांग्रेस हो ।’

विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबारे आजै निर्वाचन आयोगमा जानकारी दिने पनि थापाको भनाइ छ ।

‘आज निर्वाचन प्रक्रिया सकिएसँगै आयोगलाई जानकारी गराउँछौँ,’ उनले भने, ‘पार्टीको चुनाव चिह्न रुख, चारतारे झन्डा हामीसँगै छ । अर्को कुरा कांग्रेस नै हामी हौँ ।’

देउवासँग अन्तिम संवाद हुँदा के कुरा भयो भन्ने प्रश्नमा उनले वैशाखमा स्वत : अलग हुन्छु अहिले किन म निष्क्रिय हुने भन्ने जवाफ दिएको थापाले बताए ।

  • ३० पुष २०८२, बुधबार १६:२२ प्रकाशित