काठमाडौं।
सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । यस अनुसार सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।जेनजी आन्दोलनपछि राष्ट्रिय सभाको बैठक बस्न लागेको हो ।
२३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनपछि अन्तरिम सरकार बन्यो र प्रतिनिधिसभा विघटन ग¥यो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपतिले गत भदौ ३१ गते राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेका थिए ।
सरकारले राष्ट्रिय सभाको बैठक सिंहदरवारमै राख्ने तयारी गरेको छ । जेनजी आन्दोलनका क्रममा नयाँ वानेश्वरस्थित संसद भवन समेत जलेको छ । वैकल्पिक रुपमा सिंहदरवारमै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी व्यवस्थापन गरिएको छ ।















