विष पिउन तयार छु तर पार्टी फुट्न दिन्न : शेखर कोइराला

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीलाई एकताबद्ध राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । सोमबार आफू निकट केन्द्रीय सदस्य, जिल्ला सभापति र वरिष्ठ अधिवक्ताहरूसँगको छलफलमा उनले पार्टीलाई फुटबाट जोगाउन ‘विष पिउन’ समेत तयार रहेको बताएका हुन् ।

कोइरालाले आफू पार्टीभित्रको एकता कायम गर्न अन्तिम प्रयासमा जुटिरहेको बताए । आफूले सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरूसँग पार्टी कुनै पनि हालतमा फुट्न दिनु हुँदैन भनेर निरन्तर संवाद गरिरहेको उनले जानकारी दिए । उपस्थित नेता तथा कार्यकर्तालाई आश्वस्त पार्दै उनले ढुक्क भएर पार्टी एकताको पक्षमा लाग्न र निराश नहुन आग्रह गरे ।

छलफलमा सहभागी कानुन व्यवसायीहरूले महामन्त्रीहरूले बोलाएको विशेष महाधिवेशन वैधानिक नभएको तर्क गरे । कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्य समितिलाई मात्र भएको भन्दै उनीहरूले अहिलेको प्रक्रियाबाट नेतृत्व परिवर्तन गर्न नमिल्ने कानुनी राय दिएका थिए ।

  • २८ पुष २०८२, सोमबार १३:५२ प्रकाशित