रेशम चौधरीले पार्टीका उम्मेदवारलाई बोलाए काठमाडौँ

केन्द्रभाग मिडिया

काठमाडौं ।

रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालले उम्मेदवार बन्न चाहने नेताहरूलाई काठमाडौं बोलाएको छ ।

पार्टीका अध्यक्ष कविर सोपले हस्ताक्षर गरेको पत्रानुसार आगामी फागुन २१ गते हुने निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी नेपालको तर्फबाट प्रत्यक्ष उम्मेदवारी दिनुहुने सम्पूर्ण उम्मेदवारलाई माघ ३ गते पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित हुन भनिएको छ ।

पार्टीको आगामी चुनावी रणनीति तय गर्न तथा उम्मेदवारी मनोनय सम्बन्धी कानुनी र प्राविधिक प्रक्रियाहरू समयमै पूरा गर्न उम्मेदवारहरूलाई काठमाडौँ बोलाइएको अध्यक्ष सोपले बताएका छन् । उम्मेदवारहरूलाई नेपाली नागरिकता, मतदाता परिचयपत्र तथा ६ प्रति फोटो लिएर उपस्थित हुन पार्टीले आग्रह गरेको छ ।

नागरिक उन्मुक्ति पार्टी नेपालले चुनावमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग चुनावी सहकार्य गरेको छ । यी तीन दलले एउटै चुनाव चिह्नबाट चुनावमा भाग लिने सहमति गरिसकेका छन् ।

  • २७ पुष २०८२, आईतवार १५:२७ प्रकाशित