रास्वपासंग कुनै ठूलो पद बार्गेनिङ गरेको होइन : घिसिङ

केन्द्रभाग मिडिया

काठमाडौं ।
उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले रास्वपासंगको सहकार्य भएको पछिल्लो १२ दिन आफ्नो पार्टी र पार्टी सदस्यहरूका लागि पीडादायी समय बन्न पुगेको टिप्पणी गरेका छन् । शनिबार साँझ पार्टी केन्द्रीय कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले रास्वपासँग कुनै ठूलो पद बार्गेनिङ नगरेको समेत दावी गरे । अन्तिम समयसम्म आफूले पार्टीको साधारण सदस्य बन्छु भन्दा पनि १२ दिनसम्म होल्ड गराएर राखेको उनले आरोप लगाए ।

‘म आफैं एउटा उपाध्यक्ष त्यो पनि वरीयतामा तल रहेर पनि सहेर गएको थिएँ । अन्तिम चरणमा मैले एउटा प्रस्ताव पनि गरेको थिएँ’ घिसिङले भने, म रास्वपाको साधारण सदस्य भएर बस्छु, केन्द्रीय समितिका साथीहरूलाई एड्जसमेन्ट गर्छु भनेको थिएँ ।’

‘एकतर्फी रुपमा सहमति भंग गरेको मलाई जानकारी गर्नुभयो । मिडियामा पनि त्यही हिसाबले आयो । वास्तवमा यो १२ दिन हाम्रा लागि पीडादायी भयो’ घिसिङले भने, ‘उज्यालो समर्थक साथीहरूले धेरै पीडा भोगेको छ । रास्वपाले ठाउँठाउँमा पार्टी प्रवेश कार्यक्रम राख्नुभयो । उज्यालो नेपालका साथीहरूलाई पार्टी प्रवेशमा आह्वान गर्नुभयो । हामीले केही पनि गरेका थिएनौं ।’

उनले आजै उज्यालो नेपाल पार्टीको सदस्यता लिएको बताए । मैले उज्यालो नेपाल पार्टीको सदस्यता लिएको छु । म आजै बसेको केन्द्रीय कमिटीको बैठकबाट अध्यक्षमा चयन भएको छु। उज्यालो नेपाल पार्टीलाई आगामी दिनमा मेरो नेतृत्वमा देशव्यापी प्रभावकारी रुपमा अगाडि बढाउनेछु’, उनले भने ।

  • २६ पुष २०८२, शनिबार २१:३५ प्रकाशित