पोखरा ।
नेकपा एमालेले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । जसमा रामकुमारी झाँक्रीदेखि रोशनी मेचेसम्म समेटिएका छन् ।
एमाले सचिव महेश बस्नेतका अनुसार रामकुमारी झाँक्री, रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, मीना रखाल र लीला भण्डारीलाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनाउने टुंग्याएको हो ।
अब मधेस प्रदेशबाट मात्र उम्मेदवार चयन गर्न बाँकी रहेको उनले बताए । राष्ट्रिय सभाका १८ सदस्य चयनका लागि आउँदो ११ माघमा चुनाव हुँदै छ ।
त्यसमा एमालेले नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने सहमति गरेको छ । भागबन्डामा एमालेले ७ सिट पाएको छ ।
राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदै छ। जसमध्ये एकजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने प्रावधान रहेकाले १८ सदस्य चुन्न चुनाव गर्न लागिएको हो । निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ।















