देशभर एकै पटक निर्वाचन नहुन सक्छ : ओली

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन एकै पटक हुनेमा आशंका व्यक्त गरेका छन्।

मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले देशको वर्तमान परिस्थिति र सरकारको गतिविधिका कारण निर्वाचनको सुनिश्चिततामा अन्योल देखिएको ब्रिफिङ गरेका हुन्।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले उपमहासचिव लेखराज भट्टले अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै निर्वाचन खण्ड–खण्डमा हुन सक्ने वा पछाडि धकेलिन सक्ने सम्भावना औँल्याए।

ओलीले सरकारको कार्यशैली र मुलुकमा बढ्दै गएको साम्प्रदायिक घटनाक्रमले निर्वाचनको वातावरणमा संशय पैदा गरेको बताएका हुन्। ‘बाहिरी रूपमा निर्वाचनको माहोल बनेको जस्तो देखिए पनि सरकारको गतिविधिले एकै पटक निर्वाचन नहुन सक्ने स्थिति छ, त्यसैले हामी मनोवैज्ञानिक रूपमा तयार रहनुपर्छ,’ ओलीको निर्देशनलाई भट्टले सुनाए।

अध्यक्ष ओलीले आगामी निर्वाचनलाई सामान्य प्रक्रिया मात्र नभई ‘आन्दोलन’कै रूपमा लिन नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। निर्वाचन कसरी र कुन स्वरूपमा हुन्छ भन्नेमा अझै स्पष्टता नभएकाले पार्टीले आफ्नो आन्तरिक तयारीलाई तीव्र पार्नुपर्नेमा उनले जोड दिएका छन्।

बैठकमा निर्वाचनको मोडालिटी र दलको रणनीतिको विषयमा नेतृत्व तहमा छलफल भइरहेको समेत जानकारी दिइएको छ।

  • २२ पुष २०८२, मंगलवार १३:५२ प्रकाशित