काठमाडौं ।
नेपाली कांग्रेसमा महाधिवेशन की विशेष महाधिवेशन भन्ने विषयलाई लिएर उत्पन्न विवाद समाधानका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्ने छ ।
वर्तमान राजनीतिक अवस्था, पार्टीको आन्तरिक तथा समसामयिक विषयमा बैठकमा छलफल हुने बताइएको छ । बैठकमा वर्तमान समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक विषय, विशेष महाधिवेशनको बढ्दो दबाबलगायत विषयमा छलफल गरिनेछ ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक उमेदवारको बन्दसूची बुझाउन र विभिन्न निर्णय गर्न यही ९ पुस देखि १८ पुससम्म कार्यसम्पादन समितिको बैठक बसेको थियो ।
१८ मा बसेको बैठकबाट यही २६–२८ पुस सम्म हुने भनिएको १५ औँ महाधिवेशन आउँदो २८–३१ वैशाख मा गर्ने गरी मिति सारेर केन्द्रीय समितिको म्याद पनि जेठ मसान्तसम्म थपिएको थियो ।
तर, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही २७ र २८पुसमा विशेष महाधिवेशन गराएरै छाड्ने अडान राखेपछि त्यसबारे निर्णय गर्न पुनः कार्यसम्पादन समितिको बैठक डाकिएको हो ।















