काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेता बनेका छन् । आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले शाहलाई केन्द्रीय समितिमा अनुमोदन गर्दै वरिष्ठ नेताको जिम्मेवारी दिएसंगै उनी रास्वपामा दोस्रो बरियतासहित वरिष्ठ नेता बनेका हुन् ।
प्रवक्ता मनिष झाका अनुसार, आइतबार बसेका पार्टीका दुईवटा छुट्टाछुट्टै केन्द्रीय समिति बैठकबाट ३३ जना केन्द्रीय सदस्यहरू मनोनीत गरिएको छ । विवेवशील साझा र बालेन पक्षका गरी ३३ जना केन्द्रीय सदस्यलाई मनोनीत गरिएको हो । त्यस्तै, रास्वपाले ४ जना पदाधिकारीको संख्या थप गर्ने निर्णय पनि गरेको थियो ।
रास्वपामा कुलमान घिसिङ, डीपी अर्याल र डा. स्वर्णिम वाग्ले उपसभापति छन् । उज्यालो नेपाल रास्वपासँग एकता हुँदा कुलमानलाई उपसभापति पद सहित भित्र्याइएको थियो ।
विधान अनुसार महामन्त्री एक जना हुने प्रावधान छ । आज बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री पदमा एक जना थप्ने निर्णय गरेको छ । हाल रास्वपाको महामन्त्री कविन्द्र बुर्लाकोटी छन् । एक महिला सहित सहमहामन्त्री तीन जना हुने विधानको व्यवस्था छ । सहमहामन्त्री एक जना थप्ने निर्णय गरिएको छ । एक महिला सहित तीन जना हुने सहमहामन्त्रीमा सुमना श्रेष्ठले पदबाट राजीनामा दिएपछि वीपीनकुमार आचार्य मात्रै सहमहामन्त्री छन् ।
सहप्रवक्ता पनि एक जना थप्ने निर्णय गरिएको छ । फरक लिङ्गसहित सहप्रवक्ता हुने व्यवस्था अनुसार हाल प्रतिभा रावल र रमेश प्रसाईं उक्त जिम्मेवारीमा छन् । रास्वपाको विधान अनुसार २५ जना पदाधिकारी हुने व्यवस्था छ ।















