निर्वाचनका लागि प्रहरी भर्ना गर्न बजेट स्वीकृत

केन्द्रभाग मिडिया

काठमाडौं ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि भर्ना गरिने प्रहरीका लागि बजेट सुनिश्चत भएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनका लागि बजेट माग गर्दै गृह मन्त्रालयमा पत्राचार गरेका थिए । गृहबाट अघि बढेर अर्थ मन्त्रालय पुगेको उक्त फाइल लामो समयसम्म छलफलकै क्रममा रोकिएको थियो । अहिले भने अर्थ मन्त्रालयले बजेट सुनिश्चत गरेको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

अर्थबाट बजेट सुनिश्चत भएर आएको र अब निर्वाचन प्रहरी भर्ना प्रक्रिया अघि बढ्ने मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

ती अधिकारीका अनुसार नेपाल प्रहरीलाई निर्वाचन प्रहरीका लागि ७ अर्ब १३ करोड २५ लाख ८९ हजार रुपैयाँ बजेट सुनिश्चित गरिएको छ । यो निर्वाचन प्रहरी भर्नाका लागि मात्रै उपलब्ध गराइएको बजेट हो । यो बाहेक प्रहरीको नियमिततर्फ छुट्टै बजेट हुनेछ ।

त्यस्तै, सशस्त्र प्रहरीले भर्ना गर्ने निर्वाचन प्रहरीका लागि पनि बजेट सुनिश्चित गराइएको छ । सशस्त्र प्रहरीलाई ८० करोड ८४ लाख ५३ हजार बजेट सुनिश्चित गराइएको छ । बजेट सुनिश्चित भएसँगै अब दुवै प्रहरी संगठनले जतिसक्दो चाँडो निर्वाचन प्रहरी भर्ना प्रक्रिया अघि बढाउने छन् ।

नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० निर्वाचन प्रहरी भर्ना गर्ने

नेपाल प्रहरीलाई १ लाख ३३ हजार ९८० निर्वाचन प्रहरी भर्नाका लागि मन्त्रालयले स्वीकृत दिएको छ । गृहले दिएको यो स्वीकृत प्रहरी हेडक्वार्टर पुगिसकेको छ । अब जतिसक्दो चाँडो निर्वाचन प्रहरी भर्ना प्रक्रिया अघि बढाइने नेपाल प्रहरीले बताएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्ले सबै प्रक्रिया अन्तिम चरणमा पुगेकाले केही दिनमै भर्नाका लागि दरखास्त खुला गर्ने गरी काम थालिएको बताउँछन् ।

सशस्त्रले १५ हजार ११० भर्ना गर्ने

यस पटक नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी बलले पनि निर्वाचन प्रहरी भर्ना गर्ने भएको छ । नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना भर्ना गर्दा सशस्त्र प्रहरीले भने १५ हजार ११० निर्वाचन प्रहरी भर्ना गर्न स्वीकृति पाएको हो ।

यसका लागि मन्त्रालयले निर्णय गरेर पठाइसकेको छ । ड्युटीमा खटिँदा सशस्त्रको संख्या थोरै भएकाले समस्या हुने भन्दै सशस्त्रले पनि निर्वाचन प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव पेस गरेको थियो ।

भर्ना संयुक्त रूपमा गर्ने र त्यसमध्ये १५ हजार ११० जना सशस्त्र मातहत रहने गरी सशस्त्रमा जाने र बाँकी नेपाल प्रहरी माहतह रहने गरी नेपाल प्रहरीले अह्रनखटन गर्ने गरी प्रक्रिया अघि बढेको छ ।

सशस्त्र र नेपाल प्रहरी मातहत हुने निर्वाचन प्रहरीको पोशाक पनि फरकफरक हुने बताइएको छ ।

  • २० पुष २०८२, आईतवार १४:५४ प्रकाशित