दुर्गा प्रसाईंका माग सम्बोधन गर्न सरकारद्वारा आइतबारसम्मको समय माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीसँग नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं नेतृत्वको टोलीले छलफल गरेको छ ।

छलफलमा लघुवित्त, सहकारी समस्या र जेनजीका मागबारे कुराकानी भएको छलफलपछि प्रसाईंले बताए । आफूहरूले अघि सारेका मागबारे सरकारका तर्फबाट आइतबारसम्मको समय मागेको र उक्त समयसम्म आफू पर्खने प्रसाईंको भनाइ छ ।

‘मागबारे आइतबारसम्मको समय दिनुस् भन्नुभयो, आइतबार सहमति भयो भने सोमबार क्याबिनेट बसेर हस्ताक्षर गर्ने भन्ने कुरा भएको छ’, प्रसाईंले भने
आफ्ना माग पुरा नभए फागुन २१ मा निर्वाचन हुन नसक्ने बताए ।प्रसाईंले प्रधानमन्त्रीसँगको भेटमा जनमत सङ्ग्रह गर्न पनि आफूले प्रस्ताव गरेको बताए ।

सरकारका प्रवक्ता जगदीश खरेलले प्रसाईसँगको वार्ता सकारात्मक भएको भन्दै अहिलेको सरकारले पुरा गर्न सक्ने माग पुरा गर्न पहल गर्ने र बाँकी चुनाव पछिको सरकारले गर्ने बताए ।

भेटवार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार मन्त्री जगदीश खरेल र अर्थमन्त्री रामेश्वर खनाल पनि सहभागी थिए । यसअघि पनि प्रसाईंले आफ्नो समूहले गत मङ्सिर ६ देखि नै राख्दै आएका मागहरूको पूर्ण कार्यान्वयनका लागि ध्यानाकर्षण गराएका थिए ।

  • १७ पुष २०८२, बिहीबार १७:१२ प्रकाशित