पुसभित्रै महाधिवेशन बोलाउने कांग्रेसको तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसमा विशेष महाधिवेशन आह्वान गर्ने तयारी गरिएको छ । पूर्वनिर्धारित समयभित्र १५ औं महाधिवेशन हुन नसक्ने परिस्थिति बनेसँगै विशेष महाधिवेशन आह्वान गर्न लागिएको हो ।

पुस २६ देखि २८ गतेसम्म गर्ने गरी नियमित महाधिवेशनको समय तोकिएको थियो । उक्त समयमा नियमित महाधिवेशन नहुने भएसँग महामन्त्री गगन थापाले विशेष महाधिवेशन गर्ने गरी बुधबार सामाजिक सञ्जालमा विचार व्यक्त गरेका छन् । पुसभित्रै विशेष महाधिवेशन गर्ने गरी अघि बढेको जानकारी पार्टी पङ्तिलाई गराएका छन् ।

‘पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ,’ महामन्त्री थापाले लेखेका छन्,‘राष्ट्र प्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगिन जिम्मेवारी हो । अतः हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ ।’

विशेष महाधिवेशनका लागि दृढतापूर्वक उभिन महामन्त्री थापाले आह्वान गरेका छन् ।

कांग्रेस विधानमा विधानमा विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था छ । केन्द्रीय समितिले आवश्यक ठानेमा वा ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी लिखित माग गरेमा विशेष महाधिवशेन गर्नुपर्ने व्यवस्था छ ।

दोस्रो विकल्पअनुसार १४ औं महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेको अवस्थामा तीन महिनाभित्र आह्वान गर्नुपर्ने विधानको व्यवस्था छ । गत महाधिवेशनका २४८८ प्रतिनिधिले हस्ताक्षर गरी २९ असोजमा लिखित प्रस्ताव दर्ता गरेका थिए ।

तीन महिनाको अवधि यही पुसको २८ गते सकिँदैछ । तीन महिनाको समयसीमा भित्र विशेष महाधिवेशन गर्ने गरी तयारी भएको पक्षधर नेताहरूले जानकारी गराएका छन् ।

पार्टी संस्थापन पक्ष विशेष महाधिवेशन आह्वान गर्ने पक्षमा छैन । सभापति शेरबहादुर देउवाले नियमितको कार्यतालिका आइसकेको हुँदा विशेषको बहस निरर्थक भएको बताएका छन् ।

‘विशेष महाधिवेशन हुँदै हुँदैन । गर्ने नै हो भने गरे भैहाल्यो त १ मैले कार्यवाहक दिएकै छु । मैले रोक्ने कुरा चाहिँ हुँदैन,’ मंगलबर बिहान पत्रकारसँग कुरा गर्दै देउवाले भनेका थिए, ‘विशेष महाधिवेशनमा गयो भने त्यसको विधि के हुने भन्ने स्पष्ट छैन । कसरी गर्ने, विशेष माग्नेहरूको विवरण रुजु गराउनै कति समय लाग्ला रु त्यसकारणले यो सम्भव छैन ।’

विधानमा विशेष महाधिवेशन बोलाउन सकिने प्रावधान छ । तर, कुन विधिबाट गर्न सकिने विषयमा विधान मौन छ ।

  • १६ पुष २०८२, बुधबार १४:०७ प्रकाशित