काठमाडौं ।
निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । प्रकाशित विवरण अनुसार यसपाली नौ लाख १५ हजार ११९ मतदाता थपिएका छन् ।
गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता थिए ।
प्रकाशित नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उक्त नामावली आयोगको वेभसाइटमा प्रकाशन गरिएको छ ।
मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगबाट आज अन्तिम मतदाता नामावली प्रकाशन भएको हो ।
मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्थाबमोजिम प्रक्रिया पूरा गरी आगामी २० फागुनसम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको प्रवक्ता भट्टराईले बताए।
यस्तै, आसन्न निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् ।















