गगन–विश्वप्रकाशसहित कांग्रेसका ७ नेता चुनाव नलड्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन आउन अब ७० दिन बाँकी छ । राजनीतिक दलहरूले प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार सिफारिसको काम गरिरहेका छन् ।

यस्तोमा विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका तीन पदाधिकारीसहित ७ जना नेताले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् । केही नेताले सर्त राखेर त्यो पूरा नभए निर्वाचन नलड्ने बताएका छन् भने केहीले नयाँपुस्तालाई स्थान दिन अब निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री बद्री पाण्डे, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू राजेन्द्र केसी र मानबहादुर विश्वकर्मा तथा धादिङ सभापति रामनाथ अधिकारीले निर्वाचन नलड्ने घोषणा गरेका हुन् । नलड्ने घोषणा गरेकामध्ये महामन्त्री र सहमहामन्त्री पाण्डेले शर्त राखेका छन् ।

महामन्त्री थापा र शर्माले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा फागुन २१ गतेको निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका हुन् । महामन्त्री थापाले निर्वाचनसम्म नेतृत्व नफेरिए निर्वाचन नलड्ने बैठकमा बताएका हुन् ।

अर्का महामन्त्री शर्माले फागुन २१ गतेका लागि घोषित निर्वाचन नलड्ने स्वघोषणा गरे । आफू लगातार तीन पटक उम्मेदवार बनिसकेकाले राजनीतिक प्रवृत्ति भत्काउन अब निर्वाचन नलड्ने उनले बताएका हुन् ।
सहमहामन्त्री पाण्डे उम्मेदवार सिफारिसबारे गृहजिल्ला बाजुरामा भएको छलफलमा उम्मेदवार नबन्ने जानकारी गराउँदै अन्यलाई सिफारिस गर्न आग्रह गरेका थिए ।

पञ्चायत, बहुदल र गणतन्त्रमा नुवाकोटबाट निरन्तर निर्वाचनमा प्रत्यासी बन्दै आएका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले पनि फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन् ।

काठमाडौं १० बाट उम्मेदवार बन्दै तीन पटक निर्वाचन जितेका राजेन्द्रकुमार केसीले पनि निर्वाचन नलड्ने घोषणा गरेका छन् ।
कांग्रेसका नेता मानबहादुर विश्वकर्माले पनि कुनै लाभको पद नलिने घोषणा गरेका छन् । उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक र राष्ट्रियसभामा समेत उम्मेदवारी नदिने घोषणा गरे ।

कांग्रेस धादिङका सभापति एवं निवर्तमान कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पनि आउँदो प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

  • ११ पुष २०८२, शुक्रबार १५:३४ प्रकाशित