चुनावको पक्षमा देउवा र प्रचण्डको स्पष्ट धारणा

केन्द्रभाग मिडिया

काठमाडौं।

सरकारको प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूसँग चुनावबारे छलफल गरेका छन्।

खरेलले शुक्रबार कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्। भेटपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री खरेलले तीनै दलका नेताहरू निर्वाचनको मूल मर्ममा एकमत रहेको प्रतिक्रिया दिए ।

खरेलले कांग्रेस सभापति देउवा निर्वाचनका लागि पूर्ण रूपमा तयार रहेको आफूले पाएको जिकिर गरे । देउवाले कांग्रेसको प्राथमिकता संसद पुनःस्थापना नभई निर्वाचन नै भएको स्पष्ट पारेको मन्त्री खरेलले जानकारी दिए। ‘सभापतिज्यूले स्पष्ट रूपमा भन्नुभएको छ कि कांग्रेसको प्राथमिकता चुनाव हो,’खरेलले भने, ‘उहाँले निर्वाचन समयमै सम्पन्न गर्न सरकारलाई आग्रह गर्दै सुरक्षाको वातावरण बनाउन पनि सुझाव दिनुभएको छ।’

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले पनि अहिलेको अवस्थामा निर्वाचनको विकल्प नभएको बताएको खरेलले बताए । प्रचण्डले जसरी पनि फागुन २१ मै निर्वाचन हुनुपर्नेमा जोड दिएको उनको भनाइ छ। उनले निर्वाचन सफल पार्न आफ्नो दलको तर्फबाट सरकारलाई पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेको मन्त्री खरेलले जानकारी दिए।

भेटका क्रममा ओलीले एमाले जनमतको कदर गर्ने लोकतान्त्रिक पार्टी भएकाले चुनावबाट भाग्ने कुरा नआउने बताएका थिए । तर त्यसका लागि सुरक्षाको ग्यारेन्टी हुनुपर्ने ओलीको भनाइ रहेको खरेलले बताए।

  • ११ पुष २०८२, शुक्रबार १४:४२ प्रकाशित