गगनसहित कांग्रेसका ३ पदाधिकारी आगामी निर्वाचन नलड्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापासहित तीन जना युवा पदाधिकारीहरू आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने भएका छन् ।

कांग्रेसका १४ पदाधिकारीमध्ये महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका हुन् ।

महामन्त्री शर्मा र सहमहामन्त्री पाण्डेले आगामी निर्वाचन नलड्ने सार्वजनिक घोषणा गरिसकेका छन् । महामन्त्री थापाले भने विहीबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको नेतृत्व परिवर्तन नभए चुनाव नलड्ने बताएका थिए ।

‘चुनावअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ । नेतृत्व फेरिएन भने चुनावमा जान सम्भव छैन,’ एक पदाधिकारीका अनुसार महामन्त्री थापाले बैठकमा भनेका थिए, ‘नेतृत्व परिवर्तन नगरी चुनावमा जाने हो भने कोको चुनाव लड्ने हो लड्नुस् म चाहिँ लड्दिनँ ।’

उनको घोषणा अनुसार पार्टी नेतृत्व परिवर्तन भएमात्र चुनाव लड्ने छन् । तत्काल नेतृत्व परिवर्तनको सम्भावना भने देखिएको छैन ।अर्का महामन्त्री शर्माले भने पार्टीको नेतृत्व परिवर्तन भए पनि आसन्न निर्वाचन नलड्ने स्वघोषणा गरेका छन् ।

कार्यसम्पादन समिति बैठकमा उनले आफू लगातार तीन पटक उम्मेदवार बनिसकेकाले राजनीतिक प्रवृत्ति भत्काउन अब निर्वाचन नलड्ने जानकारी दिएका थिए ।

यसअघि सहमहामन्त्री पाण्डेले गृहजिल्ला बाजुराबाट प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका थिए । २६ मंसिरमा प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला कार्यसमिति बैठकमा उनले आफू उम्मेदावर बन्न इच्छुक नरहेको बताएका थिए ।

  • ११ पुष २०८२, शुक्रबार १४:१२ प्रकाशित