पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव नेपालले मूल्यांकन गरेर एक पटक देश विकासका लागि आफ्नो पार्टीलाई मौका दिन आग्रह गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गर्दै मुल्यांकन गरेर एक मौका दिन आग्रह गरेका हुन् ।
‘हामी साँच्चै जनताको चाहनालाई साकार पार्नका लागि इमानदारीताका साथ अगाडि बढेका छौं कि छैनौं,’ उनले भने, ‘हामीलाई एक पटक तपाईंले मौका दिनुपर्ने हुन्छ । हामीले आजसम्म इमानदारीताको राजनीति, देशभक्तिको भावनालाई, देशप्रेमको भावना र सेवाको भावनालाई केन्द्रमा राखेर भूमिका खेल्दै पनि आएका छौं ।’
उनले मेचीदेखि महाकालीसम्म पुग्दा जनताले दिएको साथले आफूहरुले ठीक निर्णय गरेको बोध भएको बताए । ‘मेचीदेखि महाकालीसम्म सातै प्रदेशमा सन्देश सभा ग¥यौं । सबै ठाउँमा जनताको शानदार उपस्थिति रहेको छ,’ नेपालले भने, ‘जनताको उपस्थितिले हाम्रो मनोबल बढाएको छ, उत्साह बढाएको छ। ठीक समय ठीक निर्णय गरेका रहेछौं भन्ने बोध भएको छ ।’
देशको समृद्धिका लागि लड्दै आएको र त्यसैका लागि नेकपा बनाएको बताएका छन् । ‘कसैले अपमान महसूस गर्न नपरोस्, भेदभाव महसूस गर्न नपरोस, गरिबी र अभावको जीवन बाच्न नपरोस् । सबै नेपालीको जीवन सुखी र समृद्ध बनाउन लागेका छौं,’ नेपालले भने ।















