काठमाडौं ।
एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएर गणनाको तयारी भएको छ । एमालेको ११ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबार बिहानदेखि मतदान सुरु भएको थियो ।
एमालेका कुल दुई हजार दुई सय ६३ मतदातामध्ये दुई हजार दुईसय २७ मत मात्रै खसेको छ । विभिन्न कारणले ३६ जना मतदाता उपस्थित हुन नसकेका निर्वाचन आयोगले जनाएको छ ।
बुधबार बिहान नौ बजेर २० मिनेटमा मतदान सुरु भएको थियो। ८० वटा विद्युतीय मेसिनबाट भएको मतदान सकिन साढे २१ घन्टा लागेको हो ।
एमालेको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । दुवैको प्यानलमा नपरेकाहरुले स्वतन्त्र रुपमासमेत उम्मेदवारी दिएका छन् ।
उम्मदेवारको लिस्ट लामो भएकाले मतदान गर्न समय लागेको मतदाताले बताएका छन् । एक जना मतदातालाई कम्तीमा आधाघण्टादेखि बढीमा सबा दुई घण्टासम्म मतदानमा समय लागेको थियो ।
निर्वाचन आयोगले केही बेरमै मतगणना सुरु हुने र करिब तीन घण्टासम्ममा नतिजा आइसक्ने जनाएको छ ।















