मुग्लिन–पोखरा चार लेन सडक निर्माणको काम अघि बढ्यो

केन्द्रभाग मिडिया

पोखरा – मुुग्लिन चार लेन सडक निर्माणको काम अघि बढेको छ । पोखरालाई काठमाडौँसँग जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नति गर्ने योजनाको प्रारम्भिक काम रुख कटानबाट अघि बढेको हो ।

एशियाली विकास बैंक(एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी चार लेनको फराकिलो र स्तरीय बनाउनका लागि मुग्लिन–पोखरा सडक योजनाले काम अघि बढाएको हो।

पोखरा–मुग्लिन सडकखण्ड विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरेर काम अघि बढाइएको छ।

पोखराको पृथ्वीचोकस्थित सेती नदी पुलदेखि तनहुँको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ। सो खण्ड हेर्ने गरी पोखरामा मुग्लिन–पोखरा सडक योजनाकोे कार्यालय स्थापना गरिएको छ।

यसैगरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ। यसको कार्यालय हाल गुणादीमा रहेको छ।
योजनाको पश्चिम खण्डमा अहिले लगत लिएर बोट बिरुवा कटानको काम सुरु भएको सो खण्डका योजना प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिए।

उनकाअनुसार योजना क्षेत्रमा पर्ने रुख कटानका लागि विभागीय स्वीकृतिपछि हाल कटानको काम धमाधम भइरहेको छ। जामुनेदेखि यताको क्षेत्रमा तीन हजार १६३ रुख कटान गर्नुपर्नेमा हालसम्म एक हजार ८०० वटा कटान गरिएको छ।

सेतीनदी पुलदेखि कोत्रेसम्म एक हजार २७१ रुख काट्ने योजना छ। यस क्षेत्रमा स्वीकृत प्राप्त भएकाले केही दिनमै कटान सुरु गरिने योजना प्रमुख श्रेष्ठले बताए।

राजमार्ग विस्तार गरेर चार लेनको बनाउने योजना रहे पनि पश्चिम खण्डको सबै केही स्थानमा भने छ लेन बन्ने भएको छ।योजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म छ लेन हुनेछ। तल्लो गगनगौँडादेखि गाछेपानी ९हलेदी झोलुङ्गेपुल० चार लेन, गाछेपानी–खैरेनीटार बजार छ लेन र खैरेनीटारदेखि जामुनेसम्मको खण्ड चार लेनको बन्नेछ।

विस्तार गरिएको छ लेनको सडक फुटपाथसहित ४३ मिटरको हुनेछ। जसमा बीचमा डेढ मिटरको डिभाइडर रहने योजना कार्यालयका प्रशासन प्रमुख जीवनाथ शर्मा मरासिनीले जानकारी दिए।योजना आगामी ४२ महिनाभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको उनले बताए।

सम्झौतामा पोखराको विजयपुर पुल, कोत्रे नदी पुल, कुम्लेखोला पुल र म्याग्देखोलामा नयाँ पुल निर्माणसमेत समेटिएको बताइन्छ।पोखराको सेती नदी पुल र दमौलीस्थित मादी नदी पुलका लागि थप बोलपत्र आह्वान गरेर काम अघि बढाइने योजनाले जनाएको छ।

  • ३ माघ २०७८, सोमबार १०:३९ प्रकाशित