काठमाडौं ।
नेकपा एमालेको ११ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज बुधबार निर्धारण गरिएको समय तालिका भन्दा डेढ घण्टा ढिलो गरी मतदान सुरु भएको छ । अध्यक्षका प्रत्यासी वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान उपाध्यक्ष इश्वर पोखरेलले पहिलो मतदान गरेसंगै एमाले महाधिवेशनमा मतदान प्रक्रिया सुरु भएको हो ।
मंगलवार साँझ मतदाताहरू मतदान हुने आशामा लाइनमै बसे पनि राति ८ बजे भोलि मतदान हुने भन्दै फर्काइएको थियो । आज बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिएको थियो । महाधिवेशन प्रतिनिधि र उम्मेदवार मतदान गर्न लामबद्ध छन् । लामबद्ध मतदातासंग उम्मेदवारहरुले मत माग्ने क्रम तीव्र छ ।
देशभरबाट आएका २ हजार २६३ जना प्रतिनिधिले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मका पदहरूका लागि मत हाल्नेछन् । अध्यक्ष पदमा वर्तमान अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबिच प्यानलसहितको प्रतिस्पर्धा छ ।















