जनकपुरधाम ।
मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
उनले जनमतबाहेक सातदलीय गठबन्धनबाट मन्त्रालय तोकेर एकएक जना मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।आज बसेको सातदलीय गठबन्धनको बैठकले तत्काल सात दलभित्रबाट प्रतिनिधित्व हुने गरी मन्त्रालयसहित एकएकजना मन्त्री नियुक्त गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार आगामी पुस ४ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिने निर्णय समेत भएको छ ।
गत मङ्सिर १९ गते ६ दलको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका थिए । उनले मङ्सिर २१ गते प्रदेश प्रमुखबाट पद तथा गोपनियताको सपथ लिएका थिए। उनले तीन दलबाट तीनजना मन्त्री समेत नियुक्त गरेका थिए।
जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादवलाई अर्थमन्त्री बनेका थिए ।
काङ्ग्रेसबाट जङ्गीलाल राय यादव र नेकपा एकीकृत समाजवादीबाट कनिश पटेल बिना विभागीय मन्त्री नियुक्त भएका थिए । सात दलीय गठबन्धनमा भागबण्डा नमिल्दा दुईजना मन्त्री अहिलेसम्म बिना विभागीय छन् ।
आज दुवै विनाविभागीय मन्त्रीसहित अन्य दलबाट समेत प्रतिनिधित्व हुने गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी मुख्यमन्त्री यादवले गरेका हुन् ।















