सुनसरी–४ बाट कांग्रेस उम्मेदवारमा ज्ञानेन्द्र कार्कीको नाम सिफारिस

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्र कार्की सुनसरीको क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य पदमा प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस भएका छन् ।

कांग्रेसको सुनसरी क्षेत्र नम्बर ४, क्षेत्रीय समितिले जिल्ला कार्यसमितिलाई पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गर्दै कार्कीको नाम पहिलो नम्बर राखेको छ । २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कार्की सुनसरी–४ बाटै प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

क्षेत्रीय कार्यसमितिले उम्मेदवार सिफारिसका साथ आफ्नो रायसमेत पठाउँदै २०७४ सालमा ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवारका रूपमा यस क्षेत्रमा आएपछि पार्टीभित्रको संगठनदेखि पूर्वाधार विकास, सामाजिक विकास लगायतका कार्यमा फट्को मारेको उल्लेख गरेको छ ।

प्रत्यक्षतर्फ नै गफार अंसारीको नामसमेत सिफारिस भएको छ । यद्यपि क्षेत्रीय सभापति ऐयुब अंसारीद्वारा हस्ताक्षरित पत्रमा ‘सिफारिस भएका व्यक्तिमध्येबाट विकासप्रेमी नेताका रूपमा स्थापित शालिन, भद्र, बौद्धिकताको धनी, लगनशील नेता ज्ञानेन्द्रबहादुर कार्कीज्यूलाई नै पुनः उम्मेदवारका रूपमा टिकट प्रदान गरिदिनहुनका लागि क्षेत्रीय कार्यसमितिको सर्वसम्मत राय रहेको’ भनिएको छ ।

यस्तै, समानुपातिकतर्फ ८ जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा राधिका कटुवाल, सुशीलादेवी खनाल, अबुल हुसैन अंसारी, जमिल अख्तर मिया, इर्फान मिया, प्रमोद खेरबार, नगमा शाहिद अंसारी र उपेन्द्रबहादुर कटुवाल छन् ।

राष्ट्रिय सभा सदस्य पदका लागि नन्द कुमार सिग्देल, सूर्यदेव दास उराँव, प्रमादुन्द मेहता, डिल्लीबहादुर कार्की, शुद्धादेवी सरदार सिफारिस भएका छन् ।

  • २६ मंसिर २०८२, शुक्रबार १५:५४ प्रकाशित