काठमाडौं ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संस्थापन समूहबाट १५ औँ महाधिवेशनमा आफ्नो दाबी रहेको बताएका छन् । त्यसबारे संस्थापनले कुनै निष्कर्ष निकालिनसकेको उनले बताए ।
शुक्रबार बिहान काठमाडौँको महाराजगन्जमा अनलाइन मिडियाका केही पत्रकारहरूसँग प्रवक्ता महतले समूहले आपसी सहमतिमा एउटामात्रै उम्मेदवार बनाउने प्रयास गर्ने बताए । सभापति शेरबहादुर देउवा र उनी निकटमा देशभरका कार्यकर्तासँग आफ्नो अट्याचमेन्ट रहेको बताउँदै उनीहरूको भावनालाई कदर गर्न पनि आफूले समूहका नेताहरूको बैठकमा सभापतिमा दाबी राखेको बताए ।
‘हाम्रो समूहबाछ १५ औँ महाधिवेशनमा सभापतिमा मेरो दाबी रहन्छ,’ प्रवक्ता डा। महतले भने, ‘सभापतिज्यूसँग निकटमा रहेर लामो समय काम गरे । उहाँसँग जोडिएका देशभरका नेता कार्यकर्तासँग मेरो अट्याचमेन्ट छ । उनीहरूको भावनालाई कदर गर्न र मेरो राजनीतिको दामो दौरानले सभापतिमा दाबी राखेको हुँ ।’
सभापतिमा कसलाई अघि सार्ने भन्नेमा समूहले कुनै निष्कर्ष निकालिनसकेको डा. महतले बताए ।संस्थापनबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित डा।महतसमेत जोडिएको ‘७ भाइ’का नामबाट परिचित पूर्वपदाधिकारीहरूले बैठक बसेर सभापतिमा दाबी राखिरहेका छन् ।
७ भाइमा पूर्वउपसभापति विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा. शशांक कोइरालाले सभापतिमा दाबी राखिरहेका थिए । त्यो समूहमा डा. महत र विजयकुमार गच्छदारले सभापतिमा दाबी गरेका थिएनन् । डा. महतले पनि आफ्नो दाबी प्रस्तुत गरेपछि संस्थापनमा सभापतिमा दाबी गर्नेको संख्या ७ पुगेको छ ।
सबै आकांक्षीलाई मिलाएर संस्थापन पक्षबाट एउटा उम्मेदवार बन्ने सम्भावना कति छ भन्ने पत्रकारहरूको प्रश्नमा ‘मिलाउने अधिकतम प्रयास हुने’ जवाफ दिए । आफूले नपाएपछि समूह छोड्ने विगतमा देखिएको छ, अहिले पनि त्यस्तै त हुने होला नि भन्ने अर्को प्रश्नमा प्रवक्ता महतले भने, ‘केही मात्रामा त भइहाल्छ । ८० प्रतिशत बढी हामी सँगै हुन्छौँ ।’















