बेलुन विस्फोटको त्यो दुखद् घटना, जसले भित्र्याउँदै छ पोखरामा जलन अस्पताल

केन्द्रभाग मिडिया

पोखरा ।

पोहोर ३ फागुन २०८१ मा भव्य समारोहका बिच पोखरा प्रदर्शनी केन्द्रमा पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन कार्यक्रम चलिरहेको थियो । कार्यक्रमका प्रमुख अतिथि  नेपाल सरकारका तत्कालिन अर्थमन्त्री विष्णु पौडेल थिए । अर्थमन्त्री  पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यले रिमोटबाट भ्रमण वर्षको औपचारिक उद्घाटन गर्दैगर्दा अचानक बेलुन विस्फोट भयो । बेलुन विस्फोट हुँदा त्यसको लप्काले मन्त्री पौडेल र महानगर प्रमुख आचार्य दुबै घाइते भए । हेलिकोप्टरमा लगेर काठमाडौं स्थित कीर्तिपुर बर्न अस्पतालमा सघन कक्षमा भर्ना गर्नुपर्यो ।

अर्थमन्त्री पौडेल र पोखरा महानगरका प्रमुख आचार्यको शरीरको ५ देखि ६ प्रतिशत भाग जलेको र अनुहारमा जलन भएकाले स्वास नली र फोक्सोमा असर पर्नसक्ने भएकाले उच्च निगरानीमा राख्नु परेको थियो । सुखद् पक्ष दुबैजना केही हप्ताको सघन उपचार पछि काममा फर्केपनि केही महिना दुबैले त्यसको पीडा भोग्नु पर्यो ।

विस्फोट हुनु र आफूहरुले पीडा भोग्नु परेको भएपनि त्यसले पोखरा र देशकै लागि फाइदा गरेको पोखरा महानगरका प्रमुख आचार्यले बताउने गरेका छन् । उनका अनुसार पहिलो फाइदा त्यो विस्फोटको छानविन भयो र देशैभर पहिले देखि नै अत्यन्त प्रज्वलनशील पदार्थ बेलुनमा भरिने रहेछ भन्ने पत्ता लाग्यो । जसका कारण जतिबेला र जहाँपनि त्यस्तो घटना हुन सक्नेमा अब त्यो रोकिएको छ ।

अर्को फाइदा पोखरावासी र समग्रमा गण्डकीका वासिन्दालाई हुनेवाला छ । त्यो भनेको पोखरामा नै अब बर्न अस्पताल निर्माण हुँदैछ । ३ फागुनको त्यो दिन सम्झँदै पोखरा महानगरका प्रमुख धनराज आचार्य भन्छन्, ‘त्यो दिन अत्यन्त दुखदायी थियो । तत्कालिन अर्थमन्त्री ज्यु र मैले जलनको पीडा भोग्यौं । तर, त्यसको सुखद् पक्ष अब देशभर नै त्यस्तो घटना दोहोरिन पाउने छैन । अर्को खुशीको कुरा पोखरामा अब स्पेशलाइज्ड बर्न हस्पिटल बन्ने पक्का भएको छ । यो अस्पताल बनेपछि पोखरा र यस वरपरका बासिन्दालाई यहीँ अत्याधुनिक विशेषज्ञसहितको सुविधा प्राप्त हुनेछ ।’

अहिले उक्त अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ । साविक लेखनाथ नगरपालिकाको प्रशासनिक रहेको जमिन मध्य २८ रोपनी क्षेत्रमा बर्न अस्पतालसँगै प्रसूति तथा स्त्री रोग, बालबालिका, ट्रमा, मिर्गौला तथा अन्य आवश्यक विशिष्ट सेवाहरू समावेश गरी यसलाई एक स्पेशलाइज्ड हस्पिटलको रूपमा विकास गर्ने प्रतिबद्धता महानगरका प्रमुख आचार्यले जनाएका छन् ।

यसका लागि कोरियन सहयोग नियोग (कोइका)  को उच्चस्तरीय विज्ञ टोली पोखरा आएको छ । कोइकाका कन्ट्री डाइरेक्टर मुहोन कोङ, डेपुटी कन्ट्री डाइरेक्टर, असिस्टेन्ट कन्ट्री डाइरेक्टरसहित विभिन्न विषयका १७ जना कोरियाली विज्ञहरूको टोली आइतबारदेखि पोखरामा  छ ।

यो टोलीले अस्पताल निर्माणबारे आवश्यक परामर्श गरिरहेको छ । मिसनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सहसचिव निता पोखरेल, उपसचिव प्रल्हाद कार्की, युएनडिपीका डेपुटी रेजिडेन्ट रिप्रेजेन्टेटिभ जुलियन चेभिलार्ड तथा महानगरको टोली सहभागी छन् ।

 

  • २४ मंसिर २०८२, बुधबार १७:०६ प्रकाशित